मासिँदै सिमसार, जोखिममा वन्यजन्तु

सुनसरी । सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेका सिमसार र रामसार क्षेत्रहरु मासिने क्रम बढेपछि यस क्षेत्रको वातावरणमा प्रतिकूल असर परिरहेको छ ।

वातावरण सन्तुलित बनाइराख्ने साथै दुर्लभ चराचुरुङ्गीहरुको मुख्य विचरण क्षेत्र सिमसार मासिँदा चरा आगमन पनि प्रभावित बनेको छ । धेरैजसो सिमसार क्षेत्रहरु जलकुम्भी झारले ढाकिएका छन् । यसले गर्दा चराहरुले आहारा प्राप्त गर्न समस्या हुने गरेको छ ।

कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा विभिन्न मुलुकबाट चरा आउने गर्छन् । दुर्लभ चराहरुको बासस्थान मानिने कोसीटप्पु र आसपास क्षेत्रमा जाडो याममा साइबेरिया, चीनलगायत मुलुकबाट चराहरु आउने गरेका छन् ।

सिमसारहरु सफाइ गर्ने, पानी निरन्तर उपलब्ध हुने व्यवस्था गर्ने जस्ता काम आवश्यक रहेको चरा संरक्षणमा सक्रिय संस्थाका प्रतिनिधिहरुको भनाइ छ ।

आरक्ष क्षेत्रमा संरक्षणको काम गर्नका लागि ठूलो परिमाणमा बजेट आउने गरे पनि संरक्षणको काम भने प्रभावकारी हुन नसकेको कोसी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीले बताए ।

नेपालमा ३२७ वटा ताल तथा सिमसार क्षेत्र रहेको तथ्यांक छ । तीमध्ये उच्च पहाडी क्षेत्रमा ७८, मध्य पहाडी क्षेत्रमा ८६ र तराईमा १६३ वटा पर्छन् ।

नेपालमा रहेका नौवटा रामसार क्षेत्रमध्ये कोसीटप्पु वन्यजन्तु आरक्षमा पर्ने कोसी नदीको बाँध क्षेत्र र आसपास क्षेत्र महत्वपूर्ण मानिन्छ ।

सुनसरी, सप्तरी र उदयपुरको बीचमा पर्ने आरक्ष क्षेत्रमा ४५० प्रजातिका माछा, विभिन्न दुर्लभ प्रजातिका चरा र वन्यजन्तु पाइन्छन् ।

सुनसरीको बराहक्षेत्रका सुनसरी भीष्म अधिकारी ठूलो रकम खर्च गरिए पनि उल्लेख्य काम हुन नसक्दा सिमसार क्षेत्रहरु मासिने क्रममा रहेको बताए ।

सिमसार क्षेत्रहरुमा स्थानीय माझीहरुले माछा मार्ने, कतिपयले विषादी समेत हाल्ने गरेकाले चराहरु संकटमा पर्ने गरेको आरक्षका अधिकारीहरुको भनाइ छ ।

माछा मारेर जिविकोपार्जन गर्ने माझीहरुले भने आफूहरुको जीवनयापनका लागि वैकल्पिक व्यवस्था गरिदिए सिमसार क्षेत्रको भर पर्नु पर्ने अवस्थाको अन्त्य हुने कोसीटप्पु माझी संघका अध्यक्ष बलराम माझी बताउँछन् ।

केही वर्ष अघिको तुलनामा अचेल उल्लेख्य संख्यामा भने चराहरु देखिएका छैनन् । आरक्ष क्षेत्रमा रहेका सिमसारहरु सुक्दै जानु, चराको आहारा र बासस्थान मासिनु जस्ता कारणले चरा आगमन प्रभावित भएको स्थानीय जानकारहरुको भनाइ छ ।

नेपालमा ८ सय ८८ प्रजातिका चरा पाइने गरेको तथ्यांक छ । तीमध्ये कोसीटप्पु आरक्ष क्षेत्रमा मात्रै ५ सय २३ भन्दा बढी प्रजातिका चराहरु पाइन्छन् । हा“सका मात्र ३४ प्रजाति नेपालमा पाइन्छ । यस क्षेत्रमा विश्वमै संकटापन्न सूचीमा रहेका २९ प्रजातिका चरा पाइन्छन् ।

कोसीटप्पु वन्यजन्तु आरक्षका वार्डेन रमेश यादव सिमसार क्षेत्र घट्दै गएको स्वीकार्छन् । संरक्षणका लागि प्रयास भइरहेको उल्लेख गर्दै यसमा स्थानीय बासिन्दाको पनि सहयोग महत्वपूर्ण हुने उल्लेख गरे ।

सिमसार क्षेत्र मासिँदै गएपछि चरा आउने क्रम प्रभावित हुँदा आरक्ष क्षेत्रमाम चरा र वन्यजन्तु अवलोकन तथा अध्ययन गर्न देश तथा विदेशका अनुसन्धाताहरुको आउने क्रम पनि पातलिएको छ ।

२०६५ भदौ २ गते कोसी गाउँपालिकाको पश्चिम कुसाहा–४ मा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएपछि पनि चराको बासस्थानहरु प्रभावित भएका थिए । त्यस बेला कतिपय सिमसार क्षेत्र पनि मासिएका थिए ।

सिमसार क्षेत्रको संरक्षण गर्दै वातावरण जोगाउन तीनै तहका सरकारहरुको सक्रियता आवश्यक देखिएको छ । संरक्षणको कामलाई बेवास्ता गरे दुर्लभ वन्यजन्तु मासिनुका साथै वातावरणमा नकारात्मक असर बढ्दै गएर मानिसहरु पनि जोखिममा पर्ने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *