प्रतिष्ठानमा निशा : ठिक ठाउँमा ठिक मान्छे

काठमाडौं । नेपाली रंगकर्ममा लामो अनुभव सँगालेकी निशा शर्माले मुलुककै संगीत नाट्य क्षेत्रका लागि महत्वपूर्ण काम गर्ने जिम्मेवारी पाएकी छन् । उनी नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको नयाँ कार्यसमितिको नेतृत्व गर्दै कुलपति बनेकी छन् ।

२०६२/६३ को जनआन्दोलनपछि तत्कालीन सरकारले २०६४ भदौ ३१ मा तीन प्रतिष्ठान गठन ऐन पारित गरेपछि स्थापना भएको नेपाल संगीत तथा नाट्य प्रतिष्ठानले चौथो कार्यकालमा महिला नेतृत्व पाएको हो ।

अग्रणी नाट्य संस्था आरोहण गुरुकुलमा आबद्ध निशा जीवन्त अभिनयका साथै नाट्य निर्माणका अरु महत्वपूर्ण पाटोहरुमा दक्ष छिन् ।

निशा नेपाली रंगमञ्चमा एउटा परिपक्व कलाकारको नाम हो । गम्भीर, विविधतायुक्त अभिनय अनि लामो समयसम्मको समर्पणका कारण नयाँ पुस्ताले श्रद्धाका साथ लिने अनि पुरानो पुस्ताको स्नेह पाएको नाम ।

दर्जनौं नाटक देश, विदेशमा प्रदर्शन र कार्यशालाहरुमा सहभागिता, थुप्रै टेलिफिल्म, केही फिल्ममा काम गरेको अनुभव संगालेकी उनी यसअघि प्रतिष्ठानमा प्राज्ञ परिषद सदस्य थिइन् ।

त्यसबेला प्रतिष्ठानको नाट्य विभागको प्रमुखका रुपमा उनले काम गरिन् ।

उनको परिवारका धेरैजना रंगमञ्चसँग सम्बन्धित छन् । रंगमञ्चमै काम गर्दा चिनजान भएका अग्रज निर्देशक सुनील पोखरेलसँग निशाको बिहे भएको थियो ।

उनकी दिदी सूर्यमाला पनि नेपाली रंगमञ्चकी अग्रज कलाकार हुन् । सूर्यमालाका पति अभिनेता सरोज खनाल र परिवारका अरु कतिपय सदस्य पनि रंगमञ्चसँग जोडिएका छन् ।

‘पुतलीको घर’, ‘अग्निको कथा’, ‘याज्ञसेनी’, ‘मायादेवीका सपना’ जस्ता उनले अभिनय गरेकामध्ये केही चर्चित नाटक हुन् ।

ठूलो पर्दाका ‘प्रेमपिण्ड’ र ‘परिभाषा’ लगायत चलचित्रमा पनि उनले काम गरेकी छन् । ‘जेठो छोरा’ लगायत थुप्रै टेलिफिल्ममा उनको अभिनय छ ।

प्रतिष्ठानमा नेतृत्वमा चयन भएकामा ठूलो जिम्मेवारी पाएको बताउँदै शर्माले यो चुनौतीका साथै अवसर पनि भएको प्रतिक्रिया दिइन् ।

आगामी दिनमा नेपाली संगीत र नाटकका लागि के गर्ने भनेर प्रतिष्ठानको टिममा छलफल गर्ने र रणनीति तयार गर्ने योजना उनको छ ।

मुख्य रुपमा नेपाली संस्कृति, संगीत र नाटकमा आधारित रहेर अनुसन्धानमूलक काम गर्ने, नाटक, रंगमञ्चलाई शिक्षासँग कसरी जोड्न सकिन्छ भनेर योजना बनाउने, नेपाली नाटकलाई अन्तर्राष्ट्रिस्तरमा पहिचान दिलाउने प्रयास गर्ने उनले बताइन् ।

यसैगरी संगीत र नाटक क्षेत्रका प्रशिक्षार्थी र कलाकारहरुलाई गुणस्तरीय प्रशिक्षण र अध्ययनका लागि सम्बन्धित संस्थाहरुसँग सहकार्य गरी ‘फेलोसिप’ दिने कुरामा पनि ध्यान दिइने शर्माको भनाइ छ ।

निशाको नेतृत्वमा उपकुलपति गायक शम्भु राई, सदस्य सचिव कुस्मा महरा तथा प्राज्ञहरू कर्णबहादुर गौतम, बखतबहादुर हमाल, डक्टर राई, हिसनबहादुर मगर, टीका पुन, चेतन सापकोटाले नेपाली संगीत तथा नाट्य क्षेत्रको विकासमा महत्वपूर्ण काम गर्ने आशा गर्न सकिन्छ ।

प्रतिष्ठानको प्राज्ञसभा सदस्यमा राधा राई (भोजपुर), पुरु लम्साल (नुवाकोट), विनितकुमार ठाकुर (धनुषा), सुरथ विष्ट (अछाम), महेश्वर सुनार (कास्की), कमलमणि नेपाल (मोरङ), दिलबन्धु यादव (धनुषा), कला राई (काठमाडौं), शान्ति कठायत (कैलाली), हरिप्रसाद पौडेल (झापा), सुरोजकुमा मादेन (ताप्लेजुङ), टीकाराम राई (खोटाङ), विष्णु मोक्तान (सुनसरी), देवकुमार चौधरी (झापा) र भीषण मुकारुङ राई (भोजपुर) नियुक्त भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *