महाशिवरात्रिमा २० लाख दर्शनार्थी आउने अनुमान

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले यसपटकको महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ । कोषले बुधबार पत्रकार सम्मेलन गर्दै महाशिवरात्रिको सबै तयारी पूरा भएको जानकारी दिंदै उक्त अनुमान सुनाएको हो ।

कोषले मन्दिर परिसरमा मांस, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकाले गाँजा, भाङ, जाँड रक्सीजस्ता पदार्थहरुको बिक्री, ओसारपसार, भण्डारण एवं सेवन नगर्न आग्रह गरेको छ ।

कोषका अनुसार सडक छेउमा फुटपाथका कुनै पनि पसल राख्न दिइने छैन ।

पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि कोषले तिलगंगा कोरिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरहको उपलब्ध ठाउँ, गुह्येश्वरी पारी गरी पाँच स्थानमा व्यवस्थापन मिलाइएको कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए ।

एयरपोर्ट, गौशाला, चाबहिलको रिङरोडमा यात्रुको चाप ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यकता अनुसार डाइभर्सनको व्यवस्था मिलाइने भएको छ ।

मेला क्षेत्र र दर्शनमार्गलाई लक्षित गरी सीसी क्यामेराको जडान गर्ने, दर्शनमार्गमा ब्यारिकेड जडानलगायतको कार्यमा र मन्दिरभित्र भिड व्यवस्थापनका लागि सेनाको विशेष सहयोग हुनेछ ।

मन्दिर परिसरमा स्वयंसेवकका लागि नेपाल स्काउटलगायत चार हजार स्वयंसेवक रहनेछन् ।

पशुपतिनाथ मन्दिरनजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधि र बेडसहितको सेनाको मूल स्वास्थ्य शिविर रहनेछ । सशस्त्र, नेपाल प्रहरीका गरी करिब ५० वटा स्वास्थ्य शिविर रहेनछन् ।

दर्शनार्थीका जुत्ता, चप्पल व्यवस्थापन दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग १, भुवनेश्वरीनजिक शंकराचार्य मठ पछाडि १, वज्रघर दक्षिणतर्फ १, राममन्दिर नजिक वाग्मती पारी १ गरी पाँच ठाउँमा व्यवस्थापन गरिने कोषले जनाएको छ ।

चन्दन वितरण दर्शन गरेर निस्किने कोर क्षेत्रभित्र, जयबागेश्वरी, वज्रघर अगाडि दक्षिण ढोका र तिलगंगामा समेत रहने जनाइएको छ ।

कोषले प्लास्टिक, काँच, सिसाजस्ता फुट्ने प्रकृतिको कप प्लेट र सामग्रीको प्रयोगमा रोक लगाएको छ । दर्शन मार्गका रुपमा गुह्वेश्वरी–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट १ लाइन, मित्रपार्क–जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थ्ति फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट १ लाइन, बत्तीसपुतली(गौशाला, एयरपोर्ट–तिलगंगा भएर पिंगलास्थान–सुमार्गी भवन अघिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट बाहिरी रुपमा तीन स्थानबाट दर्शन लाइनहरु रहनेछन् ।

तिलगंगा राम मन्दिरतर्फ समेत आवश्यकताअनुसार एक लाइन हुनेछ भने नित्य दर्शनार्थीका लागि बिहान ७ बजेभित्र भुवनेश्वरस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था हुनेछ ।

महाशिवरात्रिमा पुरी मठका जगतगुरु शंकराचार्य सरस्वती श्रीनिश्चलानन्द स्वामी आउने पनि कोषले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *