ल्होत्से मलमा सामान लुटपाट गर्नेमध्ये ४ जना पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा रहेको व्यापारिक केन्द्र ‘ल्होत्से मल’ मा गत सोमवार लुटपाट गर्नेमध्ये चारजना पक्राउ परेका छन् ।
यातायात मजदुर र प्रहरीबीच झडप हुँदा सोमबार दिनभर तनाव भएको थियो । रातिसम्मै दुई समूहबीच घम्साघम्सी परेको थियो ।
त्यही बेला मौका छापेर राति ल्होत्से मलको सिसा फुटाएर मोबाइल र अन्य वस्तु गरी लाखौँ मूल्यका सामान लुटिएको थियो ।
प्रहरीले लुटपाटमा संलग्न भएको आरोपमा चार जनालाई लुटेका सामानसहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा दैलेखको भगवती गाउँपालिका घर भएका चिरन रेग्मी, रुपन्देहीको खैरेनीका सुजन खत्री, झापाका प्रदीप बस्नेत र काठमाण्डौको सामाखुसीका नवीन खड्गी छन् ।
यस्तै त्यसै दिन प्रहरीका दुई वटा भ्यान र प्रहरी बिट जलाउने छ जनालाई पनि प्रहरीले पक्राउ गरिएको छ ।
आगजनीमा संलग्न उदयपुरका विक्रम राई, नुवाकोटका रामहरि भण्डारी, लमजुङका विवेक श्रेष्ठ, काभ्रेका राजेश तामाङ, आशिष खड्का र प्युठानका दीपेन्द्र पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।