बथनाहा-कटहरी रेलमार्ग निर्माण अन्तिम चरणमा

विराटनगर । नेपालको औद्योगिक क्षेत्रका उद्योगका लागि आवश्यक कच्चा पदार्थ एवं अन्य सामग्री सहज ढुवानीका लागि निर्माणाधीन बथनाहा-कटहरी रेलमार्ग अन्तिम चरणमा पुगेको छ । अब केही स्थानमा आवश्यक पूर्वाधार तयार भएपछि भारतबाट सामान लिएर नियमित रुपमा कार्गो रेल आउने भएको छ ।

भारतीय भन्सार बिन्दुबाट विराटनगरको बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्मको ८ किलोमिटरमा विभिन्न संरचना निर्माण भइसकेको छ । भारतको बथनाहाबाट कूल १८ किलोमिटर दूरीको रेलमार्गका लागि रेल कुद्ने लिक, स्टेशन, कार्यालय भवनलगायत पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको हो ।

रेल विभागका अनुसार निर्माण सम्पन्न भएपछि भारतले औपचारिक रुपमा नेपाललाई हस्तान्तरण गर्नेछ । १८ किलोमिटर रेलमार्गमध्ये भारततर्फ पाँच किलोमिटर पर्छ । नेपालतर्फ भन्सार बिन्दुबाट १३ किलोमिटर क्षेत्र पर्छ ।

रेल विभागअन्तर्गत विराटनगर कार्यालयका इन्जिनियर एवं साइट इन्चार्ज रोशन देवका अनुसार अब केही महिनाभित्रै रेलमार्ग निर्माण सम्पन्न भएरनियमित रुपमा रेल आउन थाल्नेछ ।

विराटनगर महानगरपालिका वडा नम्बर १८ भेडियारीस्थित भारतीय भन्सार बिन्दुबाट उत्तर बुधनगर कस्टम यार्डसम्मको ८ किलोमिटरमा स्टेसनसहित रेलमार्ग निर्माण कार्य सम्पन्न भइसकेको छ । विराटनगर-रंगेली सडकसँग जोडिएको कटहरी गाउँपालिकासम्म रेल ल्याउने योजनाअनुसार काम भइरहेको हो ।

मालबाहक रेल सञ्चालन भएपछि सामानहरु आयात गर्न सहज हुने भन्सार कार्यालयको भनाइ छ । तुलनात्मक रुपमा ढुवानी सहज र सहुलियतपूर्ण हुने भएकाले यसबाट औद्योगिक क्षेत्रले फाइदा पाउने भनाइ विराटनगर भन्सार कार्यालयका अधिकृत परशुराम दाहालको छ ।

रेल स्टेसन क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण लगभग पूरा भइसकेको छ । विभिन्न स्थानहरुमा सामान ओराल्ने र औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुमा पढाउनका लागि ढुवानी गर्न सकिने सहज संरचना पनि बनाइएको छ ।

२०६८ देखि सुरु भएको बथनाहा-कटहरी रेलमार्गको निर्माण कार्य २०७३ सालमा सम्पन्न भइसक्नुपर्ने थियो । चार वर्षअघि भारतको बथनाहादेखि बुधनगर स्टेसनसम्म रेलको लिक परीक्षण गरिएको थियो ।

रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी गाउँपालिका १ मा जग्गाको मुआब्जा विवादका कारण केही स्थानको काम भने रोकिएको छ । उचित मुआब्जा पाउन नसकेको भन्दै स्थानीय बासिन्दाले मुद्दा दायर गरेका छन् ।

हाल उक्त मुद्दा सर्वोच्च अदालतमा पुगेको छ । पटक पटक पुनर्मूल्यांकन गरिँदा समेत आफूहरुलाई उचित रकम दिने काम नभएको भन्दै स्थानीयले काम रोकेका हुन् । सर्वोच्च अदालतको निर्णय आएपछि मात्र काम अघि बढ्ने अवस्था देखिएको छ ।

मुआब्जा निर्धारण समितिले गरेको प्रतिकट्ठा २ लाखको दरले मुआब्जा दिने निर्णयप्रति जग्गाधनीहरूले असहमति जनाउँदै आएका छन् । अदालतले ८ लाखका दरले मुआब्जा दिनुपर्ने फैसला गरे पनि सरकारले मुआब्जा वितरणमा ढिलाइ गरेपछि स्थानीय केही जग्गाधनीहरू ले सर्वाेच्च अदालतमा मुद्दा दाय गरेका थिए ।

रेल नियमित रुपमा सञ्चालन सुरु भएपछि सामान आयात गर्न सहज हुनेछ । यसअघि जोबगनीस्थित भन्सार नाकाबाट सामान आयात निर्यात गर्दा साँघुरो स्थान भएकाले असहज थियो । ट्रक र लहरीमार्फत् ढुवानी गर्नुपर्ने अवस्था थियो । अब भने ढुवानी सजिलो हुने आयात निर्यातसँग सम्बन्धित संस्थाका प्रतिनिधिको भनाइ छ ।

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्मा नियमित रुपमा रेल सञ्चालनले सामान आयातको काम सहज हुनेछ । उनका अनुसार नेपाली सीमा प्रवेश गर्दा लिइने भनिएको रकम भने बढी भएकाले व्यवसायीलाई मर्का पर्ने देखिएको छ ।

भारतीय रेलले अन्तर्राष्ट्रिय सीमा विन्दुबाट नेपाल प्रवेश गर्दा रेल्वेको एक र्याक भरिने सामानको ६ लाख भारतीय रुपैयाँ लिने भनेको छ । एउटा र्याकमा ५२ वटा सामानका कन्टेनर राखिएको हुन्छ ।

त्यस हिसाबले एउटा कन्टेनरका लागि २० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसले मर्का पर्ने शर्माको भनाइ छ । पहिले जोगबनी नाकाबाट सामान ल्याउँदा यो शुल्क तिर्नुपर्दैन थियो । अब करिब दुई किलोमिटर दूरी थप हुँदा त्यति धेरै शुल्क लिइँदा लागत बढ्ने उनले बताए । यसलाई सहज बनाउनका लागि सम्बन्धित भारतीय निकायमा कुरा गरिएको छ ।

सुनसरी-मोरङ औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुका लागि आवश्यक कच्चा पदार्थ भारत र तेस्रो मुलुकबाट आउने गरेको छ । यसैगरी कतिपय तयारी वस्तु पनि भित्रने गरेका छन् ।

मालबाहक रेल आउन थालेपछि ती उद्योगका लागि आवश्यक सामग्री अब सहज रुपमा ल्याउन सकिने भएको छ ।

सन् २०१० मा तत्कालीन राष्ट्रपति रामवरण यादव भारत भ्रमणमा जाँदा नेपाल र भारतको सीमा जोड्ने गरी ५ स्थानमा रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो । त्यही सहमतिअनुसार बथनाहा–कटहरी रेलमार्ग निर्माण गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *