विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्दै, धावनमार्ग विस्तार गरिने

विराटनगर । विराटनगर विमानस्थलमा व्यवस्थित र आधुनिक टर्मिनल भवन बन्ने भएको छ ।

टर्मिनल भवनका लागि सोमबार पर्यटनमन्त्री सुदन किरातीले शिलान्यास गरेका छन् । टर्मिनल भवन आन्तरिकतर्फ देशकै सबैभन्दा ठूलो हुने जनाइएको छ ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १५ हजार वर्ग मिटरको छ । यस्तै गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन १४ हजार वर्ग मिटरको छ ।

२ अर्ब ४२ करोड रुपैयाँ लागतमा १६ हजार २७७ वर्ग मिटरको टर्मिनल भवन बनाइने भएको हो ।

तीन वर्षभित्र बनाइसक्ने भनिएको टर्मिनल भवन निर्माणको जिम्मेवारी केसी डाँफे जेभीले पाएको छ ।

विमानस्थल धावन मार्ग विस्तारका लागि केही समयअघि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको थियो । त्यसका लागि सर्वेक्षण गरी क्षेत्र कायम पनि गरिएको थियो ।

बजेट अभावमा अधिग्रहणले पूर्णता नपाउँदा सम्बन्धित जग्गाको रोक्का फुकुवा गरिएको थियो । त्यसपछि विमानस्थल विस्तारको योजना स्थगित भएको थियो ।

अब हालको भवनभन्दा अलि वरै टर्मिनल भवन भन्ने भएपछि पहिलेको स्थानलाई विमानस्थलकै क्षेत्रसँग जोडेर हवाइजहाजहरु व्यवस्थित राख्ने संरचना बनाइने भएको छ ।

हालको टर्मिनल भवन २०२५ सालमा बनाइएको थियो । पुरानो भवन भएकाले भित्ताहरु चर्किएका छन् । अव्यवस्थित छ ।

यसैबीच, धावन मार्ग विस्तार गरिने भएको छ । प्राधिकरणका महानिर्देशक अधिकारीका अनुसार धावन मार्ग २७० मिटरको बनाइने छ ।

हाल विमानस्थलको धावन मार्ग एक हजार ५ सय मिटर छ । ठूला जहाजलाई सहज रुपमा उडान अवतरणका लागि धावन मार्ग थप गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

तस्बिर: विराटनगर विमानस्थलमा बन्ने नयाँ टर्मिनल भवनको नमुना ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *