आरोहण गुरुकुलका प्रशिक्षार्थी दीक्षित

काठमाडौं । आरोहण-गुरुकुलले सञ्चालन गरेको आवासीय रंगमञ्च कला प्रशिक्षणमा सहभागी विद्यार्थीहरू दीक्षित भएका छन् । उनीहरुलाई सोमबार थापागाउँस्थित कुञ्ज नाटकघरमा दीक्षान्तको प्रमाणपत्र प्रदान गरिएको छ ।

२०७८ पुसदेखि सञ्चालन भएको प्रशिक्षणका सहभागी १४ जना प्रशिक्षार्थी दीक्षित भएका हुन् ।

रंगमञ्चलाई व्यावसायिक बनाए। गुरुकुल परम्पराअनुसार अभिनय, नाटक र रंगमञ्च कला र सीपबारे अध्यापन गराउन आरोहण गुरुकुलले प्रशिक्षण दिने गरेको हो ।

त्यस क्रममा अभिनय, संगीतका साथै रंगमञ्चका आधारभूत पक्ष, निर्देशन, रंगमञ्च र राजनीति, कचहरी नाटकजस्ता विषयमा प्रशिक्षण दिने गरिएको छ ।

ती विषयमा एक वर्ष प्रशिक्षण लिने क्रममा प्रशिक्षार्थीहरुको सहभागितामा ६ वटा नाटक उत्पादन गरिएको थियो । नाटकहरुमा उनीहरु नै सहभागी भएका थिए ।

दीक्षित प्रशिक्षार्थीहरूलाई आरोहणकी अध्यक्ष चन्द्रमाला शर्मा, आरोहणका कुलगुरु सुनील पोखरेललगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।

नेपाली रंगमञ्चमा आरोहण चार दशकयता सक्रिय अग्रणी संस्था हो ।

दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सव, सयौँ नाटक मञ्चन गरेको आरोहणले काठमाडौं र विराटनगर शाखामार्फत आवासीय कक्षा सञ्चालन गर्ने गरेको छ ।

आरोहणबाट प्रशिक्षिण कलाकार र निर्देशकहरु देशका विभिन्न स्थानमा नाट्य संस्था स्थापना गरी रंगमञ्च गतिविधिमा सक्रिय छन् ।

आरोहण गुरुकुलले विराटनगरस्थित सुशीला कोइराला नाट्य घर स्थापना गरेको छ । त्यहाँ पनि रंगमञ्चका गतिविधि नियमित हुने गरेका छन् ।

गत वर्ष विराटनगरमा महोत्सव आयोजना गरिएको थियो । विभिन्न नाट्य संस्थाहरुको सहभागितामा महोत्सव हुने गरेको छ । यसैगरी विद्यार्थीहरुको मात्रै सहभागितामा पनि महोत्सव गरिएको थियो ।

प्रशिक्षण र नाट्य महोत्सवका साथै अरु रंगमञ्चीय गतिविधिलाई निरन्तरता दिने प्रयास भइरहेको आरोहणकी अग्रज रंगकर्मी निशा शर्माको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *