रातो गुलाब : प्रेमको कथा

मधुवासको भ्रम…!
तिम्रा कामुक दहमा
निथ्रुक्क र विमोहित मनहरु
झ्यालभरिको संसारबाट
आकासका ताराहरु नियाल्दै
झिसमिसेको पर्खाइमा
झिमिक्क हुन मान्दैनन्
मानौं म यता हारिसकेको छु
र तिम्रा माधुर्यमा
म कायल भएको छु
तिम्रै मनोहरामा
लाग्छ, मेरा हरेक धड्कनहरु
झ्यालखानामा कैद छन्
तिम्रै नायवी शासनमा ।
एउटा अराजक प्रेम !
म पोखिएका बेला
किनारा मिलाउने बहाना
तिम्रा प्रेमिल नजरहरुले
साँधका पर्खालहरु नाघ्दै
जब मेरो संवेद्यतामा
धावा बोल्छन्
म निरीह श्वास बनेर
तिमीभित्र धड्किन थाल्छु
र अविराम धड्किरहन्छु
रङका पत्रहरु झरेर
विक्षिप्त काँडाहरुमाथि
उघ्रिएका डोबहरु
नसुकुञ्जेलसम्म ।
र अन्तिम प्रहर…!
प्रेमको रापमा
र सम्बन्धको तापमा
पग्लिदै- बग्दै
उम्लिदै- पोखिदै
प्रेमाश्रुमा लतपतिएर
लेखिएका किरमिरे अक्षरहरु
विस्मृतिका पत्रहरुमा
छरिँदै छरिँदै हराएर
अनि कतै मेटिएर
अलपत्र भएसँगै
खुइलिँदै गएका छन्
रातो गुलाबका
मायावी रङ्गहरु पनि ।
खै, बोल्दै बोल्दैन
ठिङ्ग उभिएको
आँगनको रातो गुलाब !
(पानी चित्र)