पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा एमाले नेताको ‘महाअभियान’ सुरू

झापा । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउने महाअभियान’ का नाममा सुुरु भएको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह र परिवार सहभागी भएको थियो ।

झापामा सोमबार सुरु भएको उक्त अभियान नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँले अगुवाई गरेका हुन् ।

कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज पारस शाह, पूर्वअधिराजकुमारी प्रेरणा शाहसहितका राजपरिवारका सदस्यहरूको सहभागिता थियो ।

अभियान सुरु गर्ने कार्यक्रममा प्रसाईंले प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरूलाई निमन्त्रणा गरेका थिए । दलका नेताहरु भने सहभागी थिएनन् ।

आफूले सुरु गरेको महाअभियान पार्टीभन्दा माथि देशको रक्षाका लागि भएको प्रसाईँले दाबी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै प्रसाईँले ‘देशको माटोलाई छातीमा राखेर अभियान सुरु गरिएको’ भन्दै कुनै पार्टी र व्यक्ति विरुद्धको महाअभियान नभएको बताए ।

कार्यक्रमअघि मेची पुलबाट शान्ति पुलसम्म पदयात्रा गरिएको थियो । पदयात्रापछि मेची नगरपालिकाको नयाँ बसपार्कमा कार्यक्रम गरेर अभियानको शुभारम्भ गरिएको थियो ।

पूर्वराजा शाहले दीप प्रज्ज्वलनसहित महाभियानको उद्घाटन गरेका थिए । उनले शान्तिको प्रतीक सेतो परेवाको जोडी उडाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *