रवि लामिछानेको क्षेत्र चितवन २ मा वैशाख १० गते उपनिर्वाचन

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपचुनाव हुने भएको छ । निर्वाचन आयोगको आइतवार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६८ बमोजिम चितवन २ मा उक्त दिन उपचुनाव गर्ने निर्णय गरेको छ ।

उक्त क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएको छ । पद खारेज भएपछि रिक्त रहेको क्षेत्रमा आयोगले उपचुनावको मिति तोकेको हो ।

संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल छ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो त्यही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा उपनिर्वाचनद्वारा पदपूर्ति गरिने व्यवस्था छ ।

आयोगले स्वीकृत गरेको उपचुनावसम्बन्धी निर्वाचन कार्यक्रमअनुसार सोमवारदेखि चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ ।

उम्मेदवारको मनोनयन दर्ता चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम चैत २२ गते हुनेछ ।

उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्य चैत २३ गते हुने आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *