‘जनयुद्ध दिवस’ मा सोमबार देशभरि सार्वजनिक बिदा

काठमाडौं । सरकारले फागुन १ गते सोमबार ‘जनयुद्ध दिवस’ को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।

माओवादी पार्टीले २०५२ फागुन १ गते ‘सशस्त्र युद्ध’ सुरु गरेको थियो । २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गर्दै स्थगित गरिएको थियो ।

सशस्त्र युद्धको नेतृत्वकर्ता पार्टी नेकपा माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ को रूपमा मनाउँदै आएको छ ।

विभिन्न दिवस र अवसरहरुमा दिइने बिदाको संख्या धेरै भएको भनेर आलोचना भइरहेका बेला माओवादी नेतृत्वको सरकारले यो निर्णय गरेको छ ।

सामाजिक सञ्जालहरुमा आफैँ सत्तामा भएको मौकामा प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाको निर्णय गराएको भनेर टिप्पणी भइरहेको छ ।

राजनीतिक विषयमा बढी समाचार लेख्ने चर्चित पत्रकार विनु सुवेदीले प्रतिक्रिया दिंदै लेखेकी छन्, ‘आसेपासेलाई अवसर, घाइते, बेपत्ता, सहिदका आफन्तलाई विदा!’

स्मरणीय छ, प्रधानमन्त्री दाहालले बिदाका दिनहरु धेरै भएको भन्दै आफैँले केही दिनअघि असन्तुष्टि पोखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *