मलमासले गर्दा नयाँ वर्षका चाडपर्व १५ दिन धकेलिए

काठमाडौं । ‘मलमास’ परेकाले आगामी नयाँ वर्ष २०८० मा हिन्दूहरुले मनाउने चाडपर्व १५ दिन पछाडि सरेका छन् ।

मुख्य पर्व दसैं कात्तिकमा परेको छ । यसैगरी हरितालिका तीजको व्रत असोज १ गते परेको छ । २०७९ सालको तीज भदौ १४ मा थियो ।

नयाँ पात्रोअनुसार २०८० सालको घटस्थापना असोज २८ गते परेको छ । फूलपाति कात्तिक ४ र विजयादशमीको टीका कात्तिक ७ गते परेको छ ।

२०७९ मा असोज १० गते घटस्थापना मनाइएको थियो । फूलपाती असोज १६ र टीका असोज १९ गते परेको थिजयो ।

अर्को मुख्य पर्व तिहार पनि करिब १५ दिन पछाडि धकेलिएको छ । २०७९ को भाइटीका कात्तिक १० गते परेको थियो । आगामी वर्षको भाइटीका कात्तिक २९ गते परेको छ ।

यसैगरी यस वर्ष कात्तिक १३ गते मनाइएको छठ पर्व २०८० मा २० दिनपछि मंसिर ३ गते परेको छ ।

साउनमा अधिक मास परेकाले यस वर्षका चाडपर्व पछि सरेका हुन् ।

असार १९ गतेबाट सुरु हुने श्रावण कृष्णपक्ष साउन १ गते सकिन्छ । साउन २ देखि १६ गतेसम्म अधिक श्रावण कृष्णमास सुरु हुन्छ ।

फेरि साउन १७ देखि ३१ सम्म अधिक श्रावण कृष्णपक्ष परेको छ । त्यसपछि फेरि साउन ३२ देखि भदौ १४ सम्म श्रावण शुक्लपक्ष परेको छ ।

यसरी असार १९ देखि भदौ १४ सम्म एउटै मास पर्न गएकाले यसलाई अधिक मास अर्थात मलमास भन्ने गरिन्छ । भदौ १४ सम्म तिथिका आधारमा श्रावण मास नै परेका कारण नयाँ वर्षका चाडपर्वहरु अघिल्लो वर्षको भन्दा १५/२० दिन पछाडि धकेलिएका हुन् ।

२०८० मा चैते दसैं छैन । चतुर्थी तिथिमै चैत्र मास समाप्त हुने भएकाले चैते दसैं २०८१ वैशाखमा सरेको पण्डित काशीनाथ निरौलाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *