सरकार र चिकित्सकबीच सहमति

काठमाडौं । सरकार र नेपाल चिकित्सक संघ (एनएमए) बीचको वार्ता सहमतिमा टुंगिएको छ । सरकारका प्रतिनिधि तथा नेपाल चिकित्सक संघका प्रतिनिधिबीच प्रधानमन्त्री कार्यालयमा आइतबार भएको वार्तामा ६ बुँदे सहमति भएको हो ।

सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित गरी चिकित्सकहरू काममा फर्किएका छन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार सरकार एक साताभित्रै ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ लाई अध्ययन गरेर पुनरावलोकन गर्ने र त्यसलाई तत्काल कार्यान्वयन गर्ने सहमत भएको छ ।

उच्च ओहोदाका व्यक्ति आवागमनको नाममा चिकित्सकमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही तथा संलग्न अन्यमाथि अनुसन्धान गरेर कारबाही अगाडि बढाउने सहमति पनि गरिएको छ ।

संघ र सरकारबीच स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि बनाइएको कानुनलाई पूर्णरुपमा लागू गरिने भएको छ ।

माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका चिकित्सक डा। जनिथलाल सिंहलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेका सेवा गरिएको थियो ।

चिकित्सकहरूको आन्दोलनलाई सम्बोधन गर्न आइतबार बिहानै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‍को कार्यालयमा नेपाल चिकित्सक संघ तथा सरकारका प्रतिनिधिबीच वार्ता भएको थियो ।

वार्तामा चिकित्सकका तर्फबाट संघका अध्यक्ष डा. कार्की, महासचिव डा. बद्री रिजाल, ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनी, तथा संघका पूर्वअध्यक्ष डा. मुक्तिराम श्रेष्ठ सहभागी भएका थिए ।

सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेसहित स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल सहभागी थिए ।

वार्तामा नेपाल प्रहरीका एआईजी दिवेश लोहनी, काठमाडौंका एसएसपी दानबहादुर कार्की तथा स्वास्थ्य मन्त्रालयका सहसचिव कृष्ण पौडेल पनि सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *