डाक्टरमाथि कुटपिटको विरोधमा देशभर स्वास्थ्य सेवा बन्द

काठमाडौं । नेपाल चिकित्सक सङ्घले डाक्टरमाथि भएको कुटपिटको विरोधमा आज आइतवार देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालका बन्द गर्ने सङ्घले निर्णय गरेको हो ।

सङ्घका अध्यक्ष डा. लोचन कार्कीले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको बताए ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्थापन गर्न तथा सुरक्षाको नाममा भीभीआईपीको सवारीबाट आम नागरिकले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गरी उचित विधि स्थापित गर्न सङ्घले माग गरेको छ ।

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प हुँदा बिरामीलाई पर्ने मर्काको जिम्मेवार सरकार नै रहेको सङ्घले जनाएको छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा डाक्टरलाई कुट्ने प्रहरी निलम्बनमा परेका विषयमा टिप्पणी भइरहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *