भूकम्प गएको ९० घण्टापछि नवजात शिशु र आमाको जीवितै उद्धार

काठमाडौं । टर्कीमा भूकम्प गएको ९० घण्टापछि नवजात शिशु र उनकी आमाको जीवितै उद्धार गरिएको छ । हाटाई प्रान्तमा यागीज नाम गरेका १० दिनका शिशु र उनकी आमाको उद्धार गरिएको हो ।

सामाजिक सञ्जालमा प्रसारित भिडिओमा ती शिशुलाई सावधानीपूर्वक कम्बलमा बेरेर एम्बुलेन्समा लगिएको र उनकी आमालाई स्ट्रेचरमा राखेर लगिएको देखिएको छ ।

यसअघि भूकम्प गएपछि भग्नावशेषभित्र जन्मिएकी एक शिशुको ३० घण्टापछि उद्धार भएको थियो । ती बालिकाको अवस्था अहिले स्थिर रहेको बीबीसीले जनाएको छ ।

टर्कीमा भूकम्प गएको चार दिन भएको छ । अत्यन्तै चिसो मौसमको बीचमा भग्नावशेषमा पुरिएकाहरू जीवितै फेला पार्ने आशा घट्दै गएका छन् । तर पनि टर्की र छिमेकी सिरियाको प्रभावित क्षेत्रमा खोजी र उद्धार भइरहको छ ।

टर्कीमा सोमवार बिहान सात दशमलव आठ रेक्टर स्केल र दिउँसो सात दशमलव सात रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण टर्की र सिरियामा गरी ज्यान गुमाउनेको सङ्ख्या २१ हजार नाघिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *