विश्राम : स्वस्थकर दीर्घजीवनको अृमत

एउटा यस्तो अृमत, जसले ठिकसँग पिउन जान्दछ उसले स्वस्थकर दीर्घजीवन पाउँछ । के हो त यस्तो अमृत ?

विश्राम नै त्यो अमृत हो जसले शरीर र मन दुवैको पोषण गर्दछ । यसले शरीर र मन दुवैलाई शक्तिशाली बनाउँदछ । अहिले हामीले न जाग्न जानेका छौं न सुत्न, न त विश्राम गर्न नै ।

विश्रामबाट त्यो शक्ति मिल्दछ जो न त भोजनले नै मिल्दछ न त व्यायामले नै । जाग्नु श्रम हो र सुत्नु थाक्नु हो । यसो भन्नुको मतलव हो, जागेको अवस्थामा कडा परिश्रम गर्ने मानिस थाकेको कारण गहिरो निद्रा सुत्दछ र उसले जाग्दा विश्राम होइन थकानमुक्त पुनः श्रम गर्ने शक्ति पाउँछ ।

श्रम नगर्ने र बढी सुविधा भोग्ने मानिस सुत्न सक्दैन किनकि उ थाकेको हुँदैन । हामी सामान्य मानिसको निद्राको सम्बन्ध थकानसँग छ । हामी जति बढी थाक्दछौं उति छिटो निद्रँमा प्रवेश गर्दछौं ।

शरीर भन्दछ, अरु श्रम बन्द गर, म श्रम गर्न सक्दिन । केवल ध्यानीको निद्रामात्र विश्राम हुन सक्दछ । श्रम र थकानको बीचमा एक विधायक अवस्था छ, एक अमृत अवस्था छ, त्यो हो– विश्राम ।

जहाँबाट सुरु हुन्छ त्यो श्रम हो र श्रमको यात्रा बढ्दै गएपछि एक विन्दु आउँछ जहाँबाट थकान सुरु हुन्छ र त्यसले निद्रालाई बोलाउँछ ।

श्रम र श्रमयुक्ति दुवै सरल छन् र बेहोसीमा पनि घटिरहेका छन् । तर जान्नुपर्ने कुरा के छ भने विश्राममा कसरी प्रवेश गर्ने ? विश्राम बेहोसीमा हुन सक्दैन । विश्रामको लागि होस चाहिन्छ ।

आजको मानिस बेहोस जीवनशैलीका कारण तनावको जीवन बिताइरहेको छ । चिन्ता, भय, त्रास, तनाव आदि मनोदोषका कारण ह्रदय रोग हुने सम्भावना ६० प्रतिशतभन्दा बढी रहन्छ ।

हाम्रो मनमा पैदा हुने हरेक उतारचढावको प्रत्यक्ष प्रभाव ह्रदयमा पर्दछ । हिनतावोध या उद्यतावोध, नकारात्मक मनोेभाव, एकांकीपन आदिका कारण मानिस विश्राममा जान सक्दैन, प्रतिफल ह्रदयका विविध समस्याबाट पीडित हुन्छ ।

तनाव या मन आतुर हुँदा रगतमा कोलेस्टेरोलको मात्रा बढ्न थाल्दछ । ह्रदय रोग विशेषज्ञ र मनोवैज्ञानिकहरुका टोलीहरुले गरेका विभिन्न शोधपत्रहरुले के स्पष्ट गर्दछन् । त्यसका केही उदाहरण यहाँ प्रस्तुत छन्, जो लाभदायक हुनेछन् ।

विद्यार्थीहरुमा अध्ययन गर्दा एक वर्षभरि सामान्य रहेको कोलेस्टेरोल परीक्षामा एकाएक बढेको पाइयो र परिवारका साथ रहँदा सामान्य रहेको कोलेस्टेरोल तीन महिना एक्लै राखिदिँदा विस्तारै बढ्न थाल्यो र एक वर्षमा खतराको लाइनमा देखिन थाल्यो ।

बराबर प्रतिस्पर्धामा आउनुपर्ने खेलाडीहरुमा ह्रदय रोग बढी भेटियो । अरुको पीडामा आनन्द मान्नेहरुमा ह्रदयाघात बढी भेटियो ।

परिवारबाट माया नपाउनेहरुको धमनीहरु ऐथिरोस्किलिरोसिसको कारणले बन्द हुँदै गएको पाइयो । यस्ता कैयन उदाहरणहरु छन् जो शारीरिक र मानसिक अविश्रामका कारण भएका हुन् ।

जीवनलाई घडीको सुईमा बाँधेर चलाउने, अखण्ड स्वभावका, अरुको कुरा सुन्न नसक्ने,अरुको कुरामा बीच बीचमा बोलिरहनुपर्ने या कुरा काटिरहनुपर्ने, अति महत्वाकांक्षी, अरुलाई बिगारेर पनि म अघि बढ्न पाए हुन्थ्यो भन्ने भावना र कर्म गर्ने, स्थिर रहन नसक्ने, मनमा कुरा लुकाएर राख्ने, अरुलाई घृणाको दृष्टिले हेर्ने, बराबर डराइरहने र असुरक्षा अनुभव गर्ने, आफ्ना बारेमा बढाइचढाइँ नभएका कुरा गर्ने, क्षण क्षणमा रिसाइरहने, हरेक कुरामा लोभ गर्ने, एउटाको कुरा अर्कोलाई लगाउने कुरौटे, अदृश्य अस्तित्वको शक्तिलाई अस्वीकार गर्ने आदि जस्ता स्वभाव भएका मानिस सदा अशान्त र भयभित रहन्छन् ।

हाम्रो मन बाहिरका घटनाहरुले प्रभावित गर्ने सदा अशान्त असुरक्षित भइरहन्छ, जसले गर्दा विश्राममा मात्र होइन निद्रामा जान पनि दुःख मान्दछ ।

शान्ति र सुरक्षाको खोज जबसम्म भित्र हुँदैन तबसम्म यो सम्भव नै छैन । माथिका कुराहरुले मानिसलाई जुन अविश्राम पैदा गराइरहेका छन् त्यो अविश्रामबाट उत्पन्न तनावले अन्य सहज जीवन जिउने मानिसलाई भन्दा ह्रदयरोग हुने दर सरदर ७६ प्रतिशतभन्दा बढी हुने कुरा यस क्षेत्रमा कार्य गरिहेका स्वास्थ्य वैज्ञानिक भन्दछन् ।

आजको मानिस वर्तमानमा जिउन चाहँदैन या भनौं उसले चाहे पनि त्यो जीवनकला सिकाउने कुनै स्थान उपलव्ध छैन । उ कि त हिजोका पीडाबाट पीडित छ कि त भोलिका कल्पनाले बेहोस छ ।

आजको बारेमा उसलाई थाह नै छैन । ओछ्यानमा अफिस बोकेर जान्छ र रातभर निदाउन सक्दैन । अफिसमा ओछ्यान बोकर आउँदछ र निद्राको झप्की लिँदैमा केही काम गर्न सक्दैन । अही छटपट, झटपट जीवन नै ह्रदय रोगको मूल कारण हो ।

वास्तविक विश्रामका लागि प्रमुख द्वार हो– शारीरिक रुपमा गृहस्थ, मानसिक रुपमा सन्यास । मैले लामो साधनापछि प्राप्त गरेको मूल सूत्र नै यही हो ।

शरीरको तलमा गृहस्थ जस्तो सिर्जनशील र अझ भनौं श्रम, सीप, समय, सदाचार र साधना युक्त र मनको तलमा होसपूर्ण । वाह्य घटनाले बेहोस रुपमा प्रभावित नगरोस् । तब तनावको जीवन समाप्त हुन्छ ।

यो प्राकृतिक चिकित्सा, भोजन चिकित्सा आदिमा हजारौं यस्ता कला एवं विज्ञान छन् जसले पूर्ण विश्राममा लैजान्छन् । जो विश्राममा छन् शरीर र मनको तलमा उनीहरुलाई विश्रामको कला सिकेमा ह्रदय रोगबात पूर्ण मुक्ति मिल्दछ ।

हरेक मानिसको शारीरिक र मानसिक स्थिति अनुसार विविध वैज्ञानिक विधिहरुको प्रयोगद्वारा विश्राममा लैजानु पर्छ । त्योभन्दा पहिले शरीरलाई मलमुक्त बनाउनु पर्दछ ।

साथै, मनलाई ग्रन्थिमुक्त गर्नुपर्दछ । यसका लागि रेचन चिकित्सा, जडिबुटी चिकित्सा, मनोपरामर्श, पर्यटन चिकित्सा आदि थुुप्रै ज्ञान विज्ञानको मेलबाट बनेको छ ।

कस्ता मानिसलाई धेरै हर्ट एट्याक हुन्छ ?

अरुको पीडामा रमाउने, मनमा कुरा लुकाएर राख्ने, अरुलाई घृणाको दृष्टिले हेर्ने, बराबर डराइरहने र असुरक्षा अनुभव गर्ने, आफ्ना बारेमा बढाइचढाई नभएका कुरा गर्ने, क्षण क्षणमा रिसाइरहने, हरेक कुरामा लोभ गर्ने, एउटाको कुरा अर्कोलाई लगाउने कुरौटे, अदृश्य अस्तित्वको शक्तिलाई अस्वीकार गर्ने आदि जस्ता स्वभाव भएका मानिस सदा अशान्त र भयभित रहन्छन् ।

(स्रोतः ‘ह्रदय रोगमा योग र प्राकृतिक चिकित्सा’ मा मानसाग्नि हरिको विश्रामसम्बन्धी विश्लेषण)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *