भूकम्पमा ज्यान गुमाउने २० हजारभन्दा बढी

काठमाडौं । टर्की र सिरियाको भूकम्पमा परी ज्यान गुमाउनेहरूको संख्या २० हजार नाघेको छ । टर्कीमा मात्रै हुनेको संख्या १७ हजार ६ सय जनाको मृत्यु भएको पुगेको त्यहाँको सरकारी समाचार संस्था ‘अनाडोलु एजेन्सी’ ले उल्लेख गरेको छ ।
सिरियामा ३ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । हजारौँ घाइते छन् । लाखौँको सङ्ख्यामा मानिसहरू घरबारविहीन बनेको तथ्याङ्क सार्वजनिक भएको छ ।
यसैबीच भूकम्प प्रभावितहरूको उद्धार र राहतमा ढिलाइ भएको भन्दै आलोचना भइरहँदा टर्कीका राष्ट्रपति तैयप इर्दोआनले प्रभावित क्षेत्रको भ्रमण गरेका छन् ।
उद्धार गरिएका हजारौँ आवासविहीन मानिसहरूको जीवन अहिले चुनौतीपूर्ण बनेको छ । टर्कीका दश प्रान्तमा ३ महिनाका लागि संकटकाल लागू गरिएको छ । टर्कीका राष्ट्रपतिले यस भूकम्पलाई ‘शताब्दीकै विपत्ति’ भनेका छन् ।
वर्षा र हिमपातले उद्धारमा थप समस्या देखिएको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत पुर्याउने र पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन विश्वका धेरै देशले सहयोग सामग्री पुर्याइरहेका छन् ।
हिउँदको चिसो, भोकमरी र निराशाले यति बेला टर्की र सिरियाका लाखौँ मानिसहरू थप पीडामा छन् ।