ए बाटुली के भयो?

चिन्तामग्न विदीर्ण बान्धवहरू बेला नपुग्दै बिती
टाढा छन् परदेशमा पति कतै छैनन् कुनै माइती।
विद्या आर्जनबाट वञ्चित हुँदा आधार के नै रह्यो
रोकिन्नन् किन अश्रुभेल गहका ए बाटुली के भयो?
आए चाड उमङ्ग हुन्न घरमा छाइन्छ पीडा बरु
राख्छन् माग अनेक दर्द नबुझी निर्दोष बच्चाहरू।
पैसा, उद्यम छैन जागिर कुनै बेहाल वर्षौँ रह्यो
छाडेनन् अनिकाल चोट पिरले ए बाटुली के भयो?
भोका, तप्त, अशान्त बालकहरू हेर्छन् चुलामा पुगी
भोगी भोकमरी बिजोग शिशुको देखेर रुन्छ्यौ लुकी।
खाना खै जब प्रश्न उठ्छ सहसा जन्मिन्छ वैराग यो
हुन्छ्यौ मौन तथा निरुत्तर तिमी ए बाटुली के भयो?
थप्दै छन् रिन साहुले दिनदिनै सावाँ भयो तेब्बर
बारी खेतसमेत बन्धक बन्यो आफू बसेको घर।
फेरिन्छन् दिन रङ्कका गरिबका भन्दै जवानी गयो
छाएको छ मुहारमा मलिनता ए बाटुली के भयो?
भोकाई दूध खान खोज्छ शिशुले आउन्न छाती चुसी।
घेरेको छ विषादले दश दिशा खोसेर तिम्रा खुसी।
खोज्छन् खान अबोध बालकहरू के बुझ्दथे दर्द यो
रोए बालक मौन छ्यौ किन तिमी ए बाटुली के भयो?