कहिले समृद्धि ? कहिले उन्नति ?

गणतन्त्रको एक ठूलो हिस्सेदारले संविधान मास्न लाग्यो, निरंकुश भयो, दुई–दुई पटक संसद विघटन गर्यो भनेर दोषी करार गरी ‘परमाधेशको सरकार’ बन्यो । चुनाव गरायो । परिणाम सर्वविदितै छ ।

स्थिरत आउला कि भन्ने थियो तर झन् अन्योल बढायो । देशलाई के फाइदा भयो ? चुनावमा हुने खर्च भन्दा गयौँ गुणा देशले नोक्सान बेहोर्न परेको छ । अझै कति बेहोर्न पर्ने हो निश्चित छैन ।

चुनावमा कसैको बहुमत आएन । गठबन्धन बन्ने, तोड्ने प्रयासहरु गर्दा पनि जनमत बाँडियो । शीर्ष नेताबीच भएका भनिएको सम्झौता नाममात्रका पुष्टि भए ।

परिणाम– आज दुई वाम प्रमुख दलसहित सात दलको सत्ता समीकरण बनेको छ । कमसेकम यो स्थितिमा प्रतिपक्ष बनेर सरकारको राम्रो कामको सहयोग नराम्रो कामको आलोचना गर्न सक्ने हिम्मत कांग्रेसले राखन सक्नुपर्ने हो ।

सुनिन्छ, राष्ट्रपतिको नाममा बखेडा उचाल्ने क्रियाकलाप भइरहेको छ । किन धैर्य गर्न सक्दैनन् ? कसरी पारदर्शी लोकतान्त्रको हिमायती ठान्छ कांग्रेस ? शीर्ष भनिएका नेताहरुको मनोमानी यस्तै हुने हो भने न पार्टी, न त मुलुकलाई फाइदा हुन्छ । युवा कांग्रेस जागेर प्रभावकारी कदम नचालेसम्म यो अन्योलले छाड्ने देखिंदैन ।

लामो समयसम्म राजनीतिक अस्थिरता भइरहँदा जनतामा निरासा बढिरहेको छ । जो आए पनि उस्तै भन्ने अवस्था देखिएको छ । नेपाल र नेपालीको एकमात्र हितका लागि काम गर्न किन दत्तचित्त हुँदैनन् अगुवाहरु ?

नेताहरू विदेश घुम्छन् । जापान पनि आउँछन् । विदेशमा के हेरेर अनि के सिकेर जान्छन् ? अहिलेलाई कमसेकम दुई ठूला वामशक्ति सहित ७ दलबाट बनेको सरकार छ । सहकार्य गरेका छन् । एउटालाई परम् मित्र अनि अर्कोलाई चरम दुश्मन देख्ने कुरा अब छाडे भनेमात्र हित हुन्छ ।

शक्तिमा नपुग्दैमा आत्तिनुपर्ने होइन कांग्रेसले पनि । संगठन मजबुत बनाउन ध्यान दिए फेरि पनि चुनाव आउँछ नै । तर सत्ता र शक्तिकै लोभ गरिरहने हो भने आगामी परिणामहरु झनै विश्मयकारी बनेर नआउलान् भन्न सकिंदैन ।

दोष कांग्रेसलाई मात्र जाँदैन । नेपालका वामपन्थी शक्तिहरू किन मिल्दैनन् ? न्यूनतम कार्यगत एकता गर्न किन सक्दैनन् ? के सिद्धान्त घोकेर बसेका मात्रै हुन् ? दक्षिणपन्थीले दिने ‘पावर’ को लोभमा आन्दोलन,समाजवाद बिर्सेका हौ ? दुई तिहाइ वामपन्थी सरकार जोगाउन नसक्नु के शक्तिको रस्साकस्सी थिएन ? आशक्ति होइन ?

एउटा गठबन्धन बनेर अर्को ठूलो पार्टी एमालेलाई ‘प्रतिगामी’ बनाइयो । के यो कुरा पुष्टि भयो ? अहँ भएन । अब के गर्ने ? आत्मालोचना, आलोचना गरौँ । काङ्ग्रेसलाई दोष दिएर उम्कने ठाउँ छैन । आफू फुट्ने अनि दोष अरुमाथि थोपर्ने ?

मुख्य भनिएका दलहरु अनि तिनका अगुवा नेताहरुको प्रभावमा परेको नेपाली राजनीति बिस्तारै नयाँ शक्ति र युवा पुस्तातिर आकर्षित बन्दै जानु अस्वाभाविक होइन ।

परिवर्तन निरन्तर हुँदै जानुपर्छ । तर यस्तो अवस्थामा नयाँ भनिएका परिवर्तनकारी शक्तिले परिमार्जित हुनुपर्छ । संयमित बन्नैपर्छ । अताल्लिने, मात्तिने गर्दा के हाल हुन्छ भन्ने हालैका घटनाहरुले देखाएकै छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने यसको गतिलो उदाहरण हुन् ।

आफूलाई नपर्दा यो देशको न्याय मरेको छैन भनिन्छ । आफूलाई पर्दा मात्र न्याय मर्यो भन्ने चलन छ । देशले आशा गरेका रविजीले मिडियाकर्मीका रूपमा बोलेझँै एक जिम्मेवार पार्टीको अध्यक्ष बोल्दा केटाकेटीपन देखियो । संयम हरायो । पद गुमाएको आवेग देखियो । यो कुनै पनि हालतमा स्वागतयोग्य होइन, हुनुहुँदैन ।

रविले केही मिडिया व्यवसायीको कमी, कमजोरी र अहंकार त उजागर गरे तर तर अलि बढी आवेगमा आए । अब उनी राजनीतिमा पूर्ण रुपमा होमिएका व्यक्ति हुन्, पहिलेका सञ्चारकर्मी रवि होइनन् । यो हेक्का उनी स्वयं अनि उनका सहयोगीहरुले राख्नैपर्छ ।

अदालतले आफ्नो कमजोरी पुष्टि गरेर निर्णय दिएपछि त्यसको सम्मान मौखिक रुपमा मात्र होइन व्यावहारिक रुपमै गर्न सक्नुपर्छ । यो उनमा देखिएन । अदालतको निर्णयको सम्मान गर्छु पनि भन्ने अनि त्यहीकारण सिर्जित परिस्थितिलाई स्वीकार गर्न नसकेको जस्तो देखियो ।

उनले उठान गरेका कुराहरु सप्रमाण सार्वजनिक गरे उत्तम हुन्छ । उस्तै परे न्यायालयको ढोका ढक्ढकाउन पनि सक्नुपर्छ । फगत आरोप र आक्रोसको उपज हुनुहुँदैन । नत्र उनका समर्थक र शुभेच्छुक अनि अन्ततः मतदाताकै संख्या दुब्लाउँदै जानेछ ।

भवितव्य कि लापर्वाही ?

एक महिना अगाडि पोखरामा जहाज दुर्घटनामा धेरै मान्छे अकालमा मरे ।े यो विषयमा कुरा उठाउनु पर्ने होइन ? चर्चा, संवाद, समाधान खोज्नेतर्फ ध्यान जानुपर्ने होइन ?

पोखरा पर्यटकीय नगरी । करोडौं जनताको सपना सजिएको नगर भन्दा पनि हुन्छ । २०२० पर्यटन वर्ष कोरोना महामारीले प्रभावित भयो । अब केही होला कि भन्ने थियो तर अनेक परिघटनाले प्रभावित पारेकै छन् ।

लामो समयपछि क्षेत्रीय–अन्तर्राष्ट्रिय विमानस्थल त बन्यो तर प्रारम्भिक रुपमै जहाज दुर्घटना हुनुले केही न केही नकारात्मक प्रभाव परेकै छ । मौसम राम्रो हुँदा पनि लापर्बाहीले भयानक दुर्घटना हुन पुग्यो । यसले विश्व सशंकित बनेको छ । पर्यटक डराएका छन् । यसको दीर्घकालनि असर पर्न सक्छ । यसतर्फ ध्यान नदिए पर्यटन क्षेत्र र समग्र मुलुकको अर्थतन्त्रमै नकारात्मक असर देखिने छ ।

आत्मदाह बहादुरी होइन, स्वर्ग पुगिँदैन

अवस्था यस्तो भइसक्यो कि युवा व्यवसायीहरु निरास भएर आत्महत्या अनि आत्मदाहतिर जान थाले । यस्तो स्थिति कसरी सिर्जना भयो ? किन सहज वातावरण छैन व्यवसायीहरुका लागि ?

हो, राज्य संयन्त्रका तह तप्कामा अनेक कमजोरी छन् । अव्यवस्था व्याप्त छ । सहज रुपले काम गराउन कठिन छ । तर यस्तो भन्दैमा हार खाएर फेरि आफैँलाई समाप्त पार्नु कुनै पनि दृष्टिले उचित होइन ।

मुलुकको बेथिति उजागर गर्न प्रेम आचार्यहरुले आत्मदाह गर्ने अवस्था नआउनुपर्ने हो । तर नियतिले त्यस्तो गरायो । अब यस्ता घटना दोहोरिन नदिन राज्य, संयन्त्र अनि तिनका अगुवाले सोच्नै पर्छ । ढिलो त भइसकेको छ । तर अब अझ ढिला गर्नुहुँदैन । गरे आत्मघाती हुनेछ ।

कहिले आउला स्थिरता ?

नेपाली राजनीतिको पछिल्लो रवि प्रकरणले मुलुकमा फेरि उही गज्याङ अवस्था फैलिएला कि भन्ने चिन्ता छाएको छ । सत्तारुढ मुख्य दुई दलका नेताबीच बेमेल हुन थालेको चर्चा सुनिन्छ । यस्तो हुनुहुँदैन ।

देशलाई कहिलेसम्म अस्थिर बनाइराख्ने ? कहिलेसम्म राजनीतिक दाउपेचका कारण विकास र उन्नतिका कुरालाई पछाडि धकेलिरहने ? नेताहरुको बेलैमा मिल अनि मुलुकलाई, जनतालाई केन्द्रमा राखेर काम गर ।

अहिलेलाई राजनीतिक सिद्धान्तलाई थाँती राख अनि एकमात्र सिद्धान्त अगाडि बढाउ– मुलुकको उन्नतिको । जनताको समृद्धिको । अनिमात्र नेताहरुप्रति आम जनमानसमा सम्मानजनक छवि निर्माण हुनेछ । नत्र लाखौँले गाली गर्ने पात्रका रुपमा मात्र सीमित हुनेछौ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *