हेलमेटभित्र १८ लाख लुकाएर हिँड्ने पक्राउ

काठमाडौं । मोटरसाइकलमा चढेर हेलमेटमित्र लाखौँ रुपैयाँ बोकेर हिंडिरहेका दुईजनालाई प्रहरीले वीरगञ्जमा पक्राउ गरेको छ ।
पर्साको वीरगञ्ज नगरपालिकामा पक्राउ परेका उनीहरुको साथबाट १८ लाख नेपाली र २ हजार भारतीय रुपैयाँ बरामद गरिएको छ ।
वीरगञ्ज–रक्सौला सडक खण्डबाट प्रहरीले बुधबार भारत घर बताउने राकेश कुमार र प्रसंजित कुमारलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया नेतृत्वको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
भारतीय नम्बर प्लेटको दुई वटा मोटरसाइकलमा उनीहरु नेपालतर्फ आउँदै थिए । राकेश कुमारको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख नेपाली रुपैयाँ तथा प्रतिबन्धित ५ सय दरको ४ थान भारतीय रुपैयाँ बरामद भएको थियो ।
उनीहरुको साथमा रहेको नेपाली रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । दुवै जनालाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।
-सांकेतिक तस्बिर ।