टर्की भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ९ हजारभन्दा बढी

काठमाडौं । टर्की र सिरियामा सोमवार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या सङ्ख्या ९ हजारभन्दा बढी पुगेको छ । टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेको सङ्ख्या ६ हजार ९ सय ५७ रहेको छ । सिरियामा २५ सय जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

कतिपय स्थानहरुमा भूकम्पले ढलेका संरचनाका भग्नावशेषमा मानिसहरु पुरिएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने जनाइएको छ । लामो समय भएकाले उनीहरुको जीवितै उद्धार हुने सम्भावना कम छ ।

टर्कीका विपद् व्यवस्थापन निकायका अधिकारीले २४ हजार चार सय कर्मचारी भूकम्प प्रभावित ठाउँमा परिचालन भएका जनाएका छन् ।

भूकम्पले टर्कीमा करिब छ हजार भवन भत्केका छन् । यसैबीच, युरोपेली सङ्घ, सङ्घमा आबद्ध १३ देशले राहत सामग्रीसहित उद्धार टोली परिचालन गरेका छन् ।

मङ्गलवार टर्की र सिरियाका भूकम्प पीडितका लागि चीन, भारत, जापान, फिलिपिन्स, अस्ट्रेलिया, न्युजिल्यान्डलगायतका देशले आर्थिक एवम् भौतिक सहयोगको घोषणा गरेका थिए ।

टर्कीमा सोमवार बिहान पहिलो पटक ४ बजेर १७ मिनेटमा ७ दशमलव ८ म्याग्निच्युड र त्यसको केही घण्टापछि ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

टर्कीमा दक्षिण क्षेत्रका १० वटा प्रान्तमा तीन महिनाका लागि सङ्कटकाल घोषणा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *