विष खुवाएर तीन वर्षीया छोरीको हत्या गरेको अभियोगमा जन्मकैद

काठमाडौं । आफ्नी तीन वर्षीया छोरीलाई विष खुवाएर हत्या गरेको अभियोगमा एक महिलालाई जन्मकैदको सजाय सुनाइएको छ ।
दैलेख जिल्ला अदालतले २२ वर्षीया हरिमाया रावललाई छोरी मुनाको हत्या गरेको पुष्टि भएपछि जन्मकैदको फैसला सुनाएको हो ।
एक वर्षअघि हरिमायाले माइतीघर दैलेखको गुराँस गाउँपालिका २ लम्चुरीमा नाबालिग छोरीको हत्या गरेकामा उक्त सजाय गरिएको अदालतले जनाएको छ ।
छोरी मुनालाई विष खुवाई हत्या गरेको पुष्टि भएपछि जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले ती महिलालाई मुलुकी अपराध संहिताको दफा १३७ बमोजिम जन्मकैद (२५ वर्ष) जेल सजाय भएको अदालतका स्रस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए ।
हरिमायाले २०७८ माघ २७ गते तरकारीमा छर्नका लागि घरमा राखिएको ‘मेटासिटड’ नामक विषादी छोरीलाई खुवाएकी थिइन् । आफूले पनि उक्त विषादी खाएकी थिइन् ।
उपचारका क्रममा फागुन ४ गते छोरीको मृत्यु भएको थियो । हरिमायाकी सासु डिलसरा सार्कीले जिल्ला प्रहरी कार्यालय दैलेखमा फागुन ४ गते उजुरी दिएपछि हरिमायालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरेको थियो ।