हजारौँ कर्मचारी कटौती गर्दै गुगल

काठमाडौं । विश्वव्यापी प्रविधि उद्योगका रुपमा परिचित ‘सर्च इन्जिन’ गुगलले १२ हजारभन्दा बढी कर्मचारी हटाउने भएको छ। कम्पनीले आफ्नो ६ प्रतिशत जनशक्ति कटौती गर्ने भएको हो ।

गुगलका मुख्य कार्यकारी अधिकृतले कम्पनीको समाचार ब्लगमा यो जानकारी सार्वजनिक गरेका हुन् । कम्पनीका सिइओ सुन्दर पिचाइले यसबारे आफ्ना कर्मचारीलाई इमेलमार्फत् जानकारी दिएको जनाइएको छ ।

कम्पनीको यो अहिलेसम्मकै धेरै कर्मचारी कटौती गर्ने योजना हो । ‘कठिन आर्थिक दुष्चक्रबाट गुज्रनुपर्ने बाध्यता’ भएको उल्लेख गर्दै उनले कर्मचारी कटौतीको निर्णय गर्नुपरेको जनाएका छन् ।

उनले जानकारी गराएअनुसार अमेरिका र अन्य कतिपय देशहरुमा कर्मचारी कटौती गरिनेछ । यसै महिनामात्र यस्ता कम्पनीहरुले कम्तीमा ४८ हजार कर्मचारी कटौती गर्ने घोषणा गरिसकेका छन् ।

महामारीको समयमा गुगलमा जनशक्ति थपिएका थिए । गत वर्षको अन्त्यसम्ममा १ लाख १९ हजारबाट बढेर करिब १ लाख ८७ हजार जनशक्ति पुगेको जनाइएको छ ।

माइक्रोसफ्ट, अमेजन, फेसबुकको मातृ कम्पनी मेटा र अन्य प्राविधिक कम्पनीहरुले पनि यसअघि कर्मचारी कटौती गर्दै आएका छन् । माइक्रोसफ्टले यसै साता १० हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो ।

यस्तै, अमेजनले १८ हजार कर्मचारी कटौती गर्ने भएको छ भने सफ्टवेयर निर्माता ‘सेल्सफोर्स’ ले करिब ८ हजार कर्मचारी कटौती गर्ने निर्णय गरेको छ ।

यसैगरी फेसबुकको मातृ संस्था ‘मेटा’ ले ११ हजार कर्मचारी हटाउने भनेको छ । एलन मस्क आबद्ध भएपछिको अवधिमा ट्विटरबाट पनि कर्मचारी कटौती गरिएको छ ।

युके मुख्यालय रहेको ‘साइबर सेक्युरिटी फर्म ‘सोफोस’ ले ४५० कर्मचारी घटाएको छ । क्रिप्टोकरेन्सी ट्रेडिङ प्लेटफर्म ‘कोइनबेस’ ले करिब ८५० कर्मचारी कटौती गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *