अन्त्येष्टिको तयारी हुँदैगर्दा ‘शव’ ले सास फेरेपछि…

काठमाडौं । मृत घोषणा गरेपछि अन्त्येष्टि गर्ने तयारी हुँदैगर्दा कोही जीवितै रहेको घटना कथाजस्तो लाग्छ। कहिलेकाहीँ कतै यस्तो भयो अरे भन्ने सुनिन्छ । अमेरिकाको न्यूयोर्कमा यस्तै भएको छ ।

घटना गत शनिबारको हो । न्यूयोर्कको लङ आइल्याण्डमा एक नर्सिङ होमका स्वास्थ्यकर्मीले ८२ वर्षीया महिलालाई मृत घोषणा गरेका थिए ।

उनलाई अन्त्येष्टि गर्ने प्रक्रियाका लागि शव गृहमा लगियो । त्यसको तीन घण्टापछि त्यहाँका कर्मचारीले थाहा पाए– महिला जीवितै छिन् । उनले सास फेरिरहेकी थिइन् ।

पोर्ट जेफरसनमा रहेको वाटर्स एज रिह्याब एण्ड नर्सिङ सेन्टरमा भएको घटनाबारे राज्यका अधिकारीहरुले सुक्ष्म अध्ययन गरिरहेका छन् ।

जीवितै रहेको मान्छेलाई कसरी मृत घोषणा गरियो भन्ने पनि खोजी भइरहेको त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

न्यूयोर्ककी महान्यायाधिवक्ता लेटिया जेम्सका प्रवक्ताले स्थानीय सञ्चार माध्यम ‘एनपीआर’ लाई भनेका छन्, ‘यो डरलाग्दो अवस्था हो, जसले उनका प्रियजनलाई अनावश्यक आघात पुर्याएको छ ।’

स्थानीय प्रहरीका अनुसार ती महिलालाई शनिबार बिहान ११ः१५ बजे मृत घोषणा गरिएको थियो ।

त्यसपछि शव गृहमा लगेर राखियो । त्यहाँ लगिएको करिब तीन घण्टामा उनी जीवितै रहेको कर्मचारीले थाहा पाएका हुन् ।

कर्मचारीले उनलाई तत्कालै अस्पताल पुर्याएका थिए । प्रहरीले ती महिलाको नाम र परिवारबारे केही जानकारी सार्वजनिक गरेको छैन ।

हालैमात्र उक्त नर्सिङ होमलाई ‘युएस न्यूज एण्ड वर्ल्ड रिपोर्ट’ले देशकै उत्कृष्ट नर्सिङ होममध्ये एक भनेर घोषणा गरेको थियो ।

उक्त घोषणाको केही सातामै यस्तो गम्भीर त्रुटि भएको घटना सार्वजनिक भएको छ ।

प्रहरीको विशेष टोलीले घटना र उक्त नर्सिङ होमबारे अनुसन्धान गरिरहेका छन् ।

न्यूयोर्क राज्य स्वास्थ्य विभागले पनि अनुसन्धान गरिरहेको जनाइएको छ ।

यस्तै घटना एक महिनाअघि आयोवाको अल्जाइमर्स हेरचाह गृहमा पनि भएको थियो ।

त्यहाँ एक ६६ वर्षीया महिलालाई मृत घोषणा गरिएको थियो । तर पछि उनी जीवितै रहेको पाइएको थियो ।

आयोवाको उक्त घटनामा सम्बन्धित हेरचाह गृहलाई १० हजार अमेरिकी डलर जरिवाना गराइएको थियो ।

तस्बिर: वाटर्स एज रिह्याब एण्ड नर्सिङ सेन्टर क्षेत्र । –एनपीआर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *