‘अपराध बढाउने गतिविधि नियन्त्रण गर्न प्रहरीको ध्यान’

विराटनगर । मोरङका प्रहरी प्रमुख एसपी दिपक पोखरेलले अपराध बढाउने खालका गतिविधि नियन्त्रण गर्न ध्यान केन्द्रित गर्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यभार सम्हालेपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले आपराधिक घटनाहरु नियन्त्रण गर्न कन्जुस्याईं नगर्ने बताए ।
होटलमा बसेर अपराध गर्ने अनि होटलमै गएर लुक्ने प्रवृत्ति बढेको अवस्थामा यसलाई नियन्त्रण गर्न पनि आफूहरुको ध्यान रहेको पोखरेलले बताए ।
उद्योगी व्यवसायीलाई सुरक्षित तरिकाले काम गर्न दिने वातावरण निर्माण गर्ने कार्यमा पहल भइरहेको पनि उनले बताए ।
उद्योगी व्यवसायीलाई घरबाट उद्योगसम्म र उद्योगबाट घरसम्म सहज र सुरक्षित तरिकाले पुग्नेगरी सुरक्षा व्यवस्था बनाइने उल्लेख गरे ।
आफूले प्रयोग गर्ने कार्यालयको ९८५२००५५५५ नम्बर चौबीसै घण्टा रेकर्डिङमा रहने भएकोले बिनाकाम फोन गर्ने र अनावश्यक दबाब दिने व्यक्तिको नामसहित रेकर्ड सार्वजनिक गर्ने पोखरेलले बताए ।
भारतीय सीमावर्ती क्षेत्रबाट हुने चोरी, तस्करी र लागूऔषध ओसारपोसारलाई सीसी फुटेज क्यामेराको सहयोग लिएर नियन्त्रण गर्ने पोखरेलले बताए ।
जिल्ला प्रहरी कार्यालयले अबदेखि सामाजिक सञ्जाल युट्युब, टिकटक र फेसबुकबाट सूचना र सन्देश प्रवाह गर्ने भएको छ ।