जनजागृतिका कवि धरणीधरको स्मरण

विराटनगर । जनजागृतिका कवि धरणीधर कोइरालाको १३१औं जन्मजयन्तीको अवसरमा उनको योगदानको चर्चा गरिएको छ ।

कवि कोइरालाको शालिकमा माल्यार्पण गर्दै उनको स्मरण गरिएको हो । धरणीधर पुरस्कार प्रतिष्ठान विराटनगरको आयोजनामा विराटनगर–११ पञ्चमुखी चोकस्थित धरणीधर कोइरालाको शालिकमा माल्यार्पण गरिएको थियो ।

विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, साहित्यकारसमेत रहेका प्रेस युनियन प्रदेश–१ का अध्यक्ष मीनकुमार नवोदित, साहित्यकार देवी पन्थी, प्रेस चौधरी मोरङका पूर्वअध्यक्ष माधव अधिकारी, ज्येष्ठ नागरिक वडा समितिका सचिव अर्जुन भट्टराई, धरणीधर पुरस्कार प्रतिष्ठानका सचिव खगेन्द्र संग्रौला, पुष्कर कोइराला, महानगर प्रहरीका प्रमुख राजन पौडेललगायतले शालिकमा माल्यार्पण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दैै वक्ताहरुले कवि धरणीधर कोइरालाको साहित्यमा मात्रै नभएर राजनैतिक परिवर्तनमा पनि महत्वपूर्ण योगदान रहेको चर्चा गरेका थिए ।

आफ्ना कवितामार्फत राणाशासनविरुद्ध जनतालाई जागृत बनाउन कवि धरणीले उल्लेखनीय भूमिका निर्वाह गरेको उनीहरुको भनाइ थियो । रचना वाचनसहित धरणीधरको स्मरण गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *