साफ महिला च्याम्पियनसिपमा भारतसँग भिड्दै नेपाल

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज मंगलबार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाल र भारतबीचको खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ ।
नेपाललाई फाइनल पुग्न भारतलाई जित्नुपर्ने दबाब छ। नेपाल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ । भारत ४ अंक जोडेर शीर्ष स्थानमा छ । भारत बराबरीको नतिजाले पनि फाइनल पुग्नेछ ।
नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई हराएको थियो ।
भारतसँग पराजित भए नेपाल उपाधि होडबाट बाहिरिनेछ भने बराबरी खेलेको अवस्थामा बंगलादेश र भुटानबीचको अन्तिम खेल कुर्नुपर्ने हुन्छ ।
राउण्ड रोबिनको अन्तिम खेलमा भुटान र बंगलादेश खेल्नेछन् । बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा छ । भुटान दुई खेलमा अंकविहीन रहदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिसकेको छ ।