सुपर माई हाइड्रोपावरद्वारा शेयर बिक्री खुला

काडमाडौं । इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाको सीमा नदी माई खोलामा जलविद्युत् आयोजना बनाएको सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्कासन र बिक्री आज सोमबारदेखि खुला गरेको छ ।
कम्पनीले आयोजनाबाट पीडित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरिसकेकामा सर्वसाधारणका लागि प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरमा चार लाख १५ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुलाएको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुने पाँच करोड रुपैयाँ मूल्य बराबरको कूल पाँच लाख कित्ता साधारण शेयरमध्ये ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ ।
यसैगरी, २५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको भने १० हजार कित्ता कर्मचारीलाई छुट्याइ बाँकी चार लाख १५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको जनाइएको छ ।
कम्पनीले निष्कासन गरेको शेयरमा लगानीकर्ताले माघ २६ गतेसम्म र यस अवधिमा माग बमोजिम आवेदन नपरे फागुन ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटल लिमिटेड छ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्वा’ प्रणालीमार्फत् र ‘मेरो शेयर’बाट आवेदन दिने सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले इलामको इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाको सीमा नदी ‘माई खोला’मा सात दशमलव आठ मेगावाट क्षमताको सुपरमाई हाइड्रोपावरको निर्माण गरेको छ ।