टर्की भूकम्पमा मृत्यु हुनेको संख्या सय पुग्यो, संकटकाल घोषणा

काठमाडौं । टर्कीको दक्षिणी क्षेत्रमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या एक सय पुगेको छ । सोमबार बिहान त्यहाँ ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

टर्कीको विपद् व्यवस्थापन सम्बन्धी निकायले ७६ जनाको ज्यान गएको र ४ सय ४० जनाभन्दा धेरै घाइते भएका जनाएको छ ।

यस्तै सिरियामा ४२ जनाको ज्यान गएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । टर्कीका अधिकारीहरुका अनुसार कयौँ मानिस भग्नावशेषहरुमा फसिरहेका छन् ।

ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । उद्धारकर्ताहरुले खोज तथा उद्धारको काम गरिरहेका छन् ।

टर्कीका आन्तरिक मन्त्री सुलेमन सोयलुका अनुसार भूकम्पबाट १० वटा सहरमा असर परेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको धक्का राजधानी अङ्कारासहितका क्षेत्र तथा लेबनान, सिरिया र साइप्रसमासमेत महसुस गरिएको बीबीसीले उल्लेख गरेको छ ।

भूकम्पपछि परकम्प पनि गइरहेको टर्कीका अधिकारीले जनाएका छन् । टर्की सरकारले भूकम्पपछिको उद्धार र व्यवस्थापनका लागि राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *