प्रवासी नेपालीको हितका लागि आयोग गठन गर्न माग

काठमाडौं । विदेशमा रहेका नेपालीको हितका लागि काम गर्न विशेष आयोग गठन गर्न माग गरिएको छ ।

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रवास समन्वय समितिका इन्चार्ज लक्ष्मण पन्तको नेतृत्वमा युरोप, दक्षिणपूर्व एसिया र पश्चिम एसियाका यूएई, कतार, साउदी अरबका प्रवास समन्वय समितिका सदस्यहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहालसँग यस्तो माग गरेको हो ।

प्रधानमन्त्रीसँगको भेटमा प्रवासी नेपालीको हितमा काम गर्नका लागि आयोग गठनको माग गरिएको हो।

प्रवासमा रहेका नेपालीका मागका विषयमा दशकौँदेखि आवाज उठाइए पनि कुनै पनि सरकारले ध्यान नदिएकाले दुःख भोग्नु परेको प्रतिनिधिमण्डलका सहभागीले बताएका थिए ।

इन्चार्ज पन्तका अनुसार प्रवासीका धेरै समस्या छन् । हाल कायम श्रम मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका आफ्ना अन्य जिम्मेवारी धेरै हुने र प्रवासीका समस्या समाधान गर्न पूर्ण अधिकार नभएका कारण समस्या बल्झिँदो अवस्था छन् ।

सरकारसमक्ष प्रवासी नेपालीका समस्या पनि समाधान हुनेगरी पुग्न नसकेकाले शक्तिशाली आयोग बन्नुपर्छ भन्ने माग सबै प्रवासी नेपालीले उठाउँदै आएको पन्तले बताए ।

प्रवासी नेपालीलाई दोहोरो नागरिकताका विषयमा अझै पनि अन्योल छ । रेमिट्यान्समा निर्भर नेपालजस्तो देशमा छुट्टै मन्त्रालय वा त्यो नभए शक्तिशाली आयोग जरुरी भइसकेको भन्दै प्रतिनिधिमण्डलले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

प्रवासमा आफ्ना नागरिकलाई श्रममा पठाउने छिमेकी मुलुक भारतमा छुट्टै मन्त्रालय छ । श्रीलङ्कामा प्रवासी नागरिकको समस्या हेर्ने र समाधान गर्ने छुट्टै संयन्त्र छ ।

फिलिपिन्समा पनि त्यहाँको सरकारले शक्तिशाली आयोग बनाएर समस्या समाधान गरिरहेको छ।

प्रधानमन्त्री दाहालले विदेशमा रहेका आप्रवासी नेपालीको समस्या समाधान गर्न अधिकारसम्पन्न आयोग बनाउन सकारात्मक रहेको बताएका थिए ।

विदेशमा रहेका ४० लाखभन्दा बढी नेपाली आप्रवासीको समस्या बुझ्न र समाधान गर्न हाल अवस्थित सरकारी संयन्त्रहरू पूर्ण अधिकारसम्पन्न नहुँदा प्रवासी नेपालीले दुःख पाइरहेकाले आयोग गठन गर्न प्रधानमन्त्री सकारात्मक भएको प्रतिनिधिमण्डलका सदस्यले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *