टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा १७ जनाको मृत्यु

काठमाडौं । टर्कीमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ । त्यसको असरले १७ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेर १७ मिनटमा ७ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ ।
प्रारम्भिक रिपोर्टअनुसार १७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
भूकम्पको धक्का राजधानी अंकाराका साथै छिमेकी मुलुक सिरिया, लेबनन, इजरायल र प्यालेस्टाइनसम्म महसुस भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
पहिलो भकम्प गएको ११ मिनेटपछि ६ दशमलब ७ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो ।
भूकम्पबाट ५० भन्दा बढी भवनहरु भत्किएका र मुख्य रुपमा दुई वटा सहर बढी प्रभावित भएको जनाइएको छ । भूकम्पबाट सबैभन्दा बढी प्रभाव दक्षिण पूर्वी सहर गाजियान्टेपमा परेको छ ।
दक्षिणी सहर कहरामनमारस नजिक दश किलोमिटर गहिराइमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सले जनाएको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैय्यप अर्दोआनले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य सुरु भइसकेको जानकारी दिएका छन् ।