नेपाल टेलिकमले सुरू गर्यो ‘फाइभजी’ परीक्षण

काठमाडौं । नेपाल टेलिकमले आइतबारदेखि ‘फाइभजी’ सेवाको परीक्षण सुरु गरेको छ । काठमाडौंको बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयबाट परीक्षण सुरु गरिएको हो ।

कम्पनीको १९औं वार्षिकोत्सवका अवसरमा परीक्षण सुरु गरिएको हो ।

‘फाइभजी’ सुविधा भएका मोबाइल डिभाइस प्रयोगकर्ताले परीक्षण अवधिभर ती स्थानमा फाइभजी चलाउन सक्ने टेलिकमले जनाएको छ ।

टेलिकमका प्रवक्त्ता शोभन अधिकारीले सामसङलगायत मोबाइल उत्पादकहरूलाई आफ्ना फाइभजी डिभाइस ल्याएर परीक्षण गर्न अनुरोध गरेको बताए ।

दूरसञ्चार क्षेत्रको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणले २०७८ साउनमा ‘फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत गरी सरकारी स्वामित्वको नेपाल टेलिकमलाई फाइभजी परीक्षणका लागि अनुमति दिएको थियो ।

केही समयपछि पोखरा, वीरगन्जलगायत अन्य स्थानमा पनि परीक्षण गरिने कम्पनीले जनाएको छ । दूरसञ्चार प्राधिकरणले फाइभजी परीक्षणका लागि २६०० मेगाहर्ज ब्यान्डअन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *