गृहमन्त्री नपाउँदा सरकारबाट बाहिरियो रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन नमानेपछि रास्वपाले सरकार छाड्ने निर्णय गरेको हो ।

यसअघि गृहमन्त्रालयकै जिम्मेवारी पाएका उनलाई नागरिकतासम्बन्धी मुद्दामा अदालतले पदमुक्त गरेपछि सांसदसहितको पदबाट मुक्त बनेका लामिछानेलाई पुनः गृहमन्त्री बनाउन प्रधानमन्त्रीले अस्वीकार गरेका हुन् ।

आइतबार बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले पार्टीले दिएको समर्थन कायम राखेर पार्टीबाट बनेका मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको बताए ।

उनले आइतबारै मन्त्रीहरूले प्रधानमन्त्री समक्ष राजीनामा बुझाउने बताए ।

रास्वपाबाट मन्त्री बनेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की फिर्ता हुने भएका छन् ।

पुस ११गते प्रधानमन्त्री दाहालसँगै उपप्रधान एवं गृहमन्त्रालयको जिम्मेवारी लिएका लामिछाने नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट १३ माघमा पदमुक्त भएका थिए ।

अदालतको फैसलाबाट लामिछानेको उपप्रधान एवम् गृह, सांसद र पार्टीको सभापति गरी तीनवटै पद गुमेको थियो । लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *