किसानको गुनासो, ‘चिया खेतीका लागि मल छैन’

झापा । चिया किसानले चिया खेतीलाई आवश्यक पर्ने रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । मल नहुँदा उत्पादन प्रभावित भइरहेको भन्दै उनीहरुले उपलब्ध गराउन माग गरेका हुन् । चिया किसान तथा उद्योगीले अन्य कृषि फसलजस्तै चिया क्षेत्रलाई पनि रासायनिक मल आवश्यक हुने भएकाले सरकारले चिया क्षेत्रलाई फरक दृष्टिले हेर्न नहुने बताएका छन् ।

झापाको बिर्तामोडमा संवाद समूह झापाको संयोजनमा भएको छलफलमा सहभागी किसानले चिया क्षेत्रलाई महत्व दिन पनि आग्रह गरे ।

कार्यक्रममा चिया किसान, उद्योगी र सरोकारवालाले यूरिया, डीएपी, पोटास, एमोनिया सल्फेट जस्ता मल सहज रुपमा उपलब्ध हुने व्यवस्था गर्न माग गरेका हुन् ।

उनीहरुले चिया क्षेत्रले मल नपाइरहेको समस्याको समाधानको लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डमार्फत पहल गर्न, कृषि ज्ञान केन्द्र, कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ लगायतका निकायलाई समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

उनीहरुले अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका–२०७७ बमोजिम हरेक स्थानीय तहलाई आफ्नो पालिकाभित्रका चिया क्षेत्रलाई आवश्यक पर्ने मलको परिमाण समेत समावेश गरी प्रदेश र केन्द्र सरकारसमक्ष मल माग गर्न आग्रह गरे ।

साना चिया किसानको हकमा चिया सहकारीलाई डिलर दर्ता गरी मल उपलब्ध गराउन तथा चिया कम्पनीको हकमा प्रदेश वा केन्द्र सरकारमार्फत कोटा निर्धारण गरी मल उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ ।

झापामा १० हजार ५ सय हेक्टर क्षेत्रफलमा चिया खेती हुने गरेको छ । त्यसका लागि वार्षिक १५ सय मेट्रिक टन रासायनिक मल आवश्यक हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले बताए ।

चिया कृषकले २०७६ सालसम्म रासायनिक मल पाइरहेको भएपनि २०७७ देखि सरकारले चिया क्षेत्रलाई रासायनिक मल उपलब्ध गराउन छोडेको नेपाल चिया उत्पादक संघका महासचिव शिवकुमार गुप्ताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *