रहेनन् राष्ट्रबैंकका पहिलो गभर्नर हिमालय शमशेर

काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ ।
काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान निधन भएको हो ।
जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गरेका थिए ।
उनी २०१३ वैशाख १० गते नेपालको पहिलो गभर्नरमा नियुक्त भएका थिए ।
गभर्नर भएसँगै नेपालबाट भारतीय रुपैयाँको चलन विस्थापित गर्न उनी सफल भएका थिए । उनको पालामा निर्धारण गरिएको भारुको विनिमय दर भारु १०० को १६० रुपैयाँ अहिले पनि कायम छ ।
उनले अवकाश लिएपछि व्यवसायमा सक्रिय बनेका थिए । गोर्खा ब्रुअरी कम्पनी खोलेर टुबोर्ग, काल्सवर्ग बियर उनैले नेपाल भित्र्याएका थिए ।
पछि उनले हिमालयन बैंक खोलेका थिए । बैंकसँगै हिमालयन डिस्टिलरी पनि स्थापना गरेका थिए ।