अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपथ्यसँगै झुमे स्रोता

काठमाडौं । अष्ट्रेलियाका सबैजसो ब्यस्त सहरहरुमा धेरैपटक प्रस्तुत भइसकेको नेपथ्य तुलनात्मक रुपले शान्त केन्द्रीय राजधानी क्यानबेराको मञ्चमा भने यसपालि पहिलोपटक प्रस्तुत भएको छ ।

थोरै मात्र नेपालीको बसोबास रहेको यस सहरमा पनि नेपाली लोक रक धुन बोकेर पुगेको ब्याण्डले शुक्रबार भब्य स्वागत पाएको थियो ।

त्यहाँस्थित ‘म्येनिंग क्लार्क हल, काम्ब्री’मा तोकिएको दर्शक संख्या अनुसार जारी सम्पूर्ण टिकट शोभन्दा अघिल्लो दिन अर्थात् बिहीबारै बिक्री भएर सकिएको नेपथ्यले जनाएको छ ।

शुक्रबार कन्सर्ट सुरु हुनुभन्दा निकै अघि ‘अष्ट्रेलियन युनिभर्सिटी’ परिसरभित्र रहेको हलमा नेपाली र केहि मात्रामा अष्ट्रेलियन दर्शकहरुको घुइँचो लागिसकेको थियो ।

स्थानीय समयअनुसार बेलुकीको ठीक ८.३० बजे कन्सर्ट सुरु हुँदा ब्याण्डले पहिलो गीत उसलाई स्थापना गराउने पहिलो सिर्जना अर्थात् ‘आँगनैभरि हिउँनै झरे’ बाट सुरुगरेको थियो । लगत्तै दोश्रो अल्बमको सर्बकालीक हिट गीत ‘छेक्यो छेक्यो’ प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा दर्शकहरुको भीडमा लिण्डा ट्रिग पनि थिइन् । नेपालमा कुनै समय अष्ट्रेलियन कुटनीतिज्ञको भूमिका निर्वाह गरेकी र हाल अवकाशप्राप्त उनी साथमा छोरालाई लिएर कन्सर्ट हेर्न पुगेकी थिइन् ।

‘गजब लाग्यो,’ कार्यक्रम हेरिसकेपछि प्रतिक्रिया दिँदै उनी भनिरहेकी थिइन्, ‘व्यावसायिकताले निखारिएको त छँदैछ, नेपथ्यको प्रस्तुति असाध्यै उर्जाशील पनि लाग्यो ।’

ब्याण्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ त्यो ऊर्जाकै मुख्य श्रोत भता पनि सिँगो ब्याण्ड आफैमा विश्वस्तरीय रहेको लिण्डाको मूल्यांकन थियो ।

कार्यक्रमलाई त्यसपछि ‘भेँडाको ऊनजस्तो’, ‘लामपाते सुरती’, ‘चरि मर्यो’ र ‘जोमसोमे बजार’ जस्ता गीतहरुले निरन्तरता दिएको थियो ।

‘शिरफूल शिरैमा’ गाइरहँदा अमृतले नेपालका डाँडाकाँडामा अद्भूत मिठास रहेको उल्लेख गर्दै स्वदेश गएका बेला पदयात्रा गर्न दर्शकहरुलाई हौस्याएका थिए ।

कार्यक्रम अवधिमा अमृतले उपस्थित नेपाली दर्शकहरुको साथ पाइरहँदा एकमनले खुसी र अर्को मनले दुःखी पनि महशुस भइरहेको उल्लेख गरे ।

‘तपाईंहरु यहाँ आएर उज्वल भविष्यका लागि संघर्ष गरिरहनुभएको देख्दा असाध्यै खुशी छु,’ उनी भनिरहेका थिए, ‘तर, यत्तिका उर्जावान् तन्नेरीहरुलाई आफ्नै मुलुकले बाँधेर राख्न नसकेको देख्दा कता कता नरमाइलो पनि भइरहेको छ ।’

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

कलाकारको यो टिमबाहेक ब्यवस्थापक र प्राविधिकहरुको १३ सदस्यीय टोली यात्रामा छ ।

यसपटकको श्रृंखलावद्ध यात्रामध्ये क्यानबेरामा चौथो प्रस्तुति सम्पन्न भएपछि ब्याण्ड अब ‘वेस्टर्न अष्ट्रेलिया’ राज्यको राजधानी पर्थ सहर पुगेको छ ।

फेब्रुअरी ५ तारिख आइतबारका दिन त्यहाँस्थित ‘मेट्रो सिटी हल’मा अबको पाँचौ प्रस्तुती रहनेछ ।

त्यसपछि फेब्रुअरी १० तारिख सिड्नीको ‘होडर्न पभिलियन’, फेब्रुअरी १३ तारिख मेलबर्नको ‘फोरम’ र अन्त्यमा अष्ट्रेलियाकै पुछारमा रहेको बेग्लै टापु तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबारको दिन प्रस्तुत भएपछि टोली स्वदेश फर्कने नेपथ्यले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *