‘विदेशी’ भनेको विरोधमा सिक्किमका नेपालीभाषी आन्दोलित

विराटनगर । सिक्किमका नेपाली भाषीलाई भारतको सर्वोच्च अदालतले ‘विदेशी’ भनी टिप्पणी गरेको विरोधमा त्यहाँको विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले शनिबारदेखि ४८ घन्टे हड्ताल आह्वान गरेको छ ।
निवर्तमान मुख्यमन्त्री पवन चाम्लिङको दल एसडीएफको आह्वानमा भएको हड्तालमा चाम्लिङलगायत दलका नेता कार्यकर्ता तथा समर्थकको सहभागिता छ ।
आन्दोलनका क्रममा भएको प्रदर्शनमा चाम्लिङले बन्दको समर्थन नगर्नेहरु सिक्किम र नेपालीभाषीको विरोधी भएको धारणा राखेका थिए ।
चाम्लिङले नेपालीहरूलाई विदेशीको लाञ्छना लाग्ने अवस्थाको सिर्जना गर्न सत्तारुढ दल सिक्किम क्रान्तिकारी मोर्चा र मुख्यमन्त्री प्रेमसिंह गोले जिम्मेवार रहेको आरोप लगाएको त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
भारतको सर्वोच्च अदालतले सिक्किमका नेपालीलाई ‘विदेशी’ र ‘आप्रबासी’ भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित भएका हुन् ।
एउटा मुद्दाको सुनुवाइका क्रममा अदालतले त्यस्तो भनेको थियो । सिक्किमभरि अदालतको उक्त भनाइको विरोध भइरहेको छ । सिक्किमेलीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै दार्जिलिङमा पनि आन्दोलन भइरहेको छ ।
एसोसिएसन अफ ओल्ड सेटलर्स सिक्किमले सन् २०१३ मा आयकर छुटको मागसहित सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।
सर्वोच्चले यो सङ्गठनको पक्षमा गत जनवरी १३ मा फैसला गरेको थियो । यही फैसलाका क्रममा सर्वोच्चले सिक्किमका बहुसङ्ख्यक नेपालीभाषीलाई विदेशी र आप्रवासी भनेर टिप्पणी गरेको थियो ।
त्यसपछि सिक्किम र दार्जिलिङलगायत क्षेत्रका नेपाली मूलका समुदाय असन्तुष्ट बनेका हुन् ।