१५ करोड ७५ लाख घोटाला प्रकरणका प्रतिवादीलाई थुनामा राख्ने आदेश सदर

विराटनगर । विराटनगरस्थित सप्तकोसी डेभलपमेन्ट बैंक घोटाला प्रकरणका आरोपीहरुलाई थुनामा राख्न उच्च अदालत विराटनगरले दिएको आदेश सर्वोच्च अदालतले सदर गरेको छ ।

उच्च अदालत विराटनगरले बैंकका तत्कालीन सीईओ नवीन सुवेदी, तत्कालीन लेखा प्रमुख देवीप्रसाद भण्डारी र जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख हिमाल भट्टराईलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतले उक्त आदेशलाई शुक्रबार सदर गरिदिएको हो । उच्चको आदेश बदर गरिपाउँ भन्दै प्रतिवादीहरुले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

उच्च अदालतका का तत्कालीन मुख्य न्यायाधीश (हाल सर्वोच्चका न्यायाधीश) तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त वाणिज्य इजलासले तीनैजनालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न २०७८ फागुन १३ गते आदेश दिएको थियो ।

बैंकका अपरेसन प्रमुख अमित थापामगरलाई भने २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको थियो । प्रतिवादीमध्ये पछि हाजिर भएकी खातावाला बबिता सुवेदीलाई पनि थुनामा राख्न उच्चले आदेश दिएको थियो ।

निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले उच्चको आदेश सदर गर्दै तीनजनालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको सर्वोच्चका सह–रजिष्ट्रार नारायण रेग्मीले बताए ।

खातावाल बबिताका हकमा भने उच्च अदालतको आदेश उल्टिएको छ । थुनामा राख्ने भनिएकामा सर्वोच्चले उनलाई धरौटीमा छाड्न सर्वोच्चले आदेश दिएको छ ।

बैंकको कर्पोरेट कार्यालय विराटनगरबाट १५ करोड रूपैयाँ बढी अपचलन गरेको आरोपमा प्रहरीले बैंकका ५ जना कर्मचारीलाई पक्राउ गरेर घटनाको अनुसन्धान थालेको थियो ।

राष्ट्र बैंक र सप्तकोसी डेभलपमेन्ट बैंकले दिएको जाहेरीका आधारमा रकम घोटालामा संलग्नविरुद्ध प्रहरीले बैंकिङ कसुरको मुद्दामा अनुसन्धान गरेको हो ।

अनुसन्धानबाट सीईओ सुवेदीको योजनामा फर्जी रेमिट्यान्स खडा गरी २०७२ साल चैत महिनादेखि २०७८ मंसिरसम्म लगातार भुक्तानी लिएर बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटाला गरिएको खुलेको थियो ।

उक्त प्रकरणमा बैंकका ९ जना कर्मचारी र ३ जना खातावालासहित १२ जनालाई प्रतिवादी बनाएर उच्च अदालत विराटनगरमा २०७८ फागुनमा मुद्दा दर्ता भएको थियो ।

पक्राउ परेकामध्ये बैंकका सहायक होमप्रसाद पौडेललाई कोरोना संक्रमण देखिएपछि तत्काल हाजीरजमानीमा छाडिएको थियो ।

पछि हाजीर भएका उनलाई उच्चले धरौटीमा छाड्न आदेश दियो । बैंकको रकम घोटाला प्रकरणमा तत्काल ५ जना पक्राउ परेका भएपनि अरु फरार थिए ।

पछि हाजीर भएकामध्ये खातावाला बबिताबाहेक बैंकका कार्यालय सहयोगी चुडाबहादुर निरौला, सहायक पदबाट राजीनामा दिएका निश्चल सुवेदी, कनिष्ठ सहायक पदबाट राजीनामा दिएकी समीक्षा अधिकारी, वरिष्ठ सहायक शुभेच्छा निरौला तथा खातावाला कमल दाहाल तथा मनोज भट्टराईलाई उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *