के लत बस्यो मलाई…

तस्बिरमा मसँग देखिने कुकुरहरु मैले पालेका होइनन् । कोही अरूले पालेका वा केही भुस्याहा पनि । यिनीहरुसँग मेरो साइनो कसरी रहन गयो ? यसमा धेरै लामो इतिहास छैन ।

दुई वर्षयता मात्र यो अनौठो मित्रता कायम हुन थालेको हो । दुई वर्षअघि जतिबेला मेरो ‘नन–भेज’ जीवनशैली थियो, त्यो बेला मेरा कुकुर साथी थिएनन् । त्यो वेला म साँच्चै कुकरप्रति ज्यादै घृणा गर्दथेँ । मनमनै सोच्थेँ- यी सबै कुकुरलाई एकसाथ बन्ध्याकरण गर्नुपर्छ । शहरभरिका कुकुरलाई उन्मूलन गरिनुपर्छ । यस्तो सोच आउनुको पछाडि खास कारण छ ।

म ७ वर्षको हुँदा बुबासँगै भारत गइरहेको बेला मलाई कुकुरले टोकेको थियो । भारतको लखिमपुरमा नाइटो वरिपरि रेबिजविरुद्धका लगातार दिनहुँ १४ वटा सुई लगाएको र बरफपानीले नाइटो सेकेको अझै ताजै छ ।

८ वर्षअघि विदेश जाने अघिल्लो दिन काठमाडौंमा कुकुरले टोकेपछि मेरो विदेश यात्रा खल्लो भएको नमिठो अनुभव पनि छ । विदेश उड्नु केही घण्टाअघि रेबिजविरुद्ध सुई लगाउनु परेको थियो ।

डाक्टरले दुई हप्तासम्म रक्सी आदि केही नखान आदेश दिएको पनि ताजै स्मरण छ । त्यही जाबो एउटा कुकुरले मेरो दुई हप्ता विदेश भ्रमणमा पुरै रक्सी ‘ब्यान्ड’ गरिदिएको थियो । मलाई त्यो विदेश भ्रमण जीवनकै झुर यात्रा लागेको थियो । किनकि, मलाई लाग्दथ्यो- रक्सी विनाको जीवन के जीवन, मासु विनाको जीवन के जीवन । त्यसैले कुकुरप्रति मेरो ज्यादै त्रसित मानसिकता रह्यो ।

दुई वर्षअघि ऋषिपञ्चमीको दिनदेखि मैले ‘भेज’ जीवनशैली अपनाएँ । त्यसपछि मेरो साइनो अपरिचित कुकुरहरुसँग गाँसिन थाल्यो । माघ-फागुनको जाडोमा एकाबिहानै कटासे फुटबल मैदानमा बिरुवा गोडमेल गर्नेक्रममा कुकुरहरुले मलाई पछ्याइरहेको अनुभव हुन थाल्यो ।

जता गयो, उनीहरु पछिपछि आउने । रोकियो, उनीहरु पनि रोकिने । मैले खाजा खाने बेला उनीहरुलाई बजारमा उपलब्ध सस्तो ‘पार्ले-जी’ विष्कुट दिन्थेँ । कटासे, खैरिफाँटा, पालबजार, अमरावती वरपरको ठाउँसम्म कुकुरसँग मेरो आउने जाने क्रम चलिरह्यो ।

एक दिन मैले बिना कुनै योजना कुइने-बडिगाउँ जाने योजना बनाए । साइकल कुदाएर कटासे गएँ । दुईवटा कुकुर मेरो वरिपरि झुम्मिन थाले । उनीहरुलाई सदाझैं विष्कुट दिएँ र साइकल हुइँक्याउँदै बल्चौरतिर हानिएँ ।

धुपेनीको खोलामा तिनै दुई कुकुर मेरा पछिपछि लागेको देखें । मैले उनीहरुलाई फर्काउन खोजेँ तर मानेनन् । मलाई लाग्यो, बल्चौरबाट यिनीहरु फर्किएलान् ?

तर अहँ, फर्किएनन् । झण्डै १२ किलोमिटर चिसापानीसम्म मलाई पछ्याइरहे ।

म आफ्नै सुरमा साइकल चलाउँदै चिसापानीबाट कर्णालीको छालैछाल पहाडी बाटोतिर लागेँ, कुकुरहरु पनि मेरो पछिपछि आइरहेका छन् । करिब चार घण्टाको मेरो साइकल यात्रा बडिगाउँसम्म पुग्यो । यिनीहरु मेरै पछिपछि छन् ।

अब पर्यो फसाद । यिनलाई कहाँ सुताउने ? कसको घरमा लैजाने ? दुई दिनका लागि घरबाट निस्केको म, यिनलाई कहाँ छोड्ने ? बडिगाउँमा चन्द्रलोक होटल भेटियो, जो पुरै ‘भेज’ होटल रहेछ । त्यहीँ बसियो, मेरा साथीहरु पनि मसँगै बसे, भोलिपल्ट बडिगाउँको त्रिवेणीधाममा नुहाएर पूजाआजा गरी पुनः कटासे फर्किएँ ।

दोस्रोपटक बडिगाउँ त्रिवेणी धाम जाँदा म कटासेका ती दुई कुकुरप्रति तर्किन चाहन्थे । त्यस दिन कटासे भएर नजाने निधो गरेँ । गाउँकै बाटोबाट त्रिवेणी साइकल यात्राको योजना बनाएँ । तर यो बिहान पनि त्यस्तै अनौठो परिघटना देखियो ।

गाउँकै तीनवटा कुकुरले मलाई पछ्याउन शुरु गरे । फेरि दोहरियो उही चक्र । अचेल सोच्छु, मेरो सम्बन्ध यी कुकुरसँग कुनै न कुनै रुपमा आध्यात्मिक रेखा जोडिएको छ । म कर्णाली करिडोरको छालैछाल कटासेदेखि शान्तिबजार हुँदै राजापुर, सत्ती भएर टीकापुरबाट फेरि कटासे फर्कँदा करिब ५० किलोमिटर साइकल यात्रा हुँदो रहेछ ।

यो परिक्रमामा मेरा साथीहरुले धेरै पछ्याएका छन् । पूर्वी कैलालीमा कर्णालीको घाटैघाट साइकल यात्रा गर्ने मान्छे कमै छन् होला, त्योभन्दा पनि अनौठो ५० किलोमिटर कसैलाई पछ्याएर हिँड्ने कुकुर पनि छैनन् यहाँ ।

मेरो साइकल जीवनशैली थाहा पाउने धेरैले मलाई ‘साइकल मन्त्री’ भनेर जिस्काउँछन् । सुनेको छु, कसै–कसैले पछाडि कुरा काटेर ‘कुकुरमन्त्री’ पनि भन्छन् रे । मलाई धेरैले मेरै अगाडि जिस्काउँछन् । भन्छन्- आज तपाईंका ‘बडिगार्ड’ खोइ त ?

सत्ती मन्दिरमा जाँदा पद्यमप्रकाशेश्वर मन्दिरका अध्यक्ष विदुर कायस्थ दाइ सोध्नुहुन्छ- तपाईको कालो कुकुर खोइ त ? एक दिन मसँग कुकुर नदेख्दा धेरैलाई अनौठो लाग्न थालेको छ । म अचेल बल्चौर जाँदा टुँडी कम्पनीका हाकिम राजेन्द्रजी भन्नुहुन्छ- अरे दाजु आज कुकुर छैनन् त ?

म काठमाडौं गएका बेला एकपटक राति ११ बजे घर फर्कँदा तीनवटा कुकुर दैलोमा कुरिरहेका रहेछन् । त्यो दृश्य मेरी आमालाई अनौठो लागेको थियो रे । उहाँले भन्नुभयो- बाबु यिनलाई तिमी आउँदैछौ भन्ने पहिल्यै थाहा हुन्छ कि ? कसरी आज राति यहाँ आए, हिजोसम्म यता देखा पर्दैन थिए ।

मानिसको मन अनौठो । पहिले कुकुरहरुसँग घृणा लाग्थ्यो । अलि पछि नपछ्याउन् जस्तो लाग्यो । अचेल ठिक उल्टो भएको छ । उनीहरुलाई आफू आसपास देखिनँ भने खल्लो लाग्छ । के लत बस्यो मलाई… एक दिन उनीहरूलाई नदेख्दा मन न्यास्रिन थालेको छ ।

मैले पनि बुझेको छैन- कसरी यस्तो प्रीति बस्यो उनीहरुसँग । जे होस्, अनौठो, रोमाञ्चक र गहिरो मित्रताले हामी बाँधिइसकेका छौं । धन्यवाद छ- मेरा अनौठा साथी !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *