विराटनगरको विकासका लागि समन्वय गर्ने अमेरिकी राजदूतको आश्वासन

विराटनगर । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले विराटनगरको भ्रमण गरेका छन् । उनले प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरका मेयर नागेश कोइराला लगायतसँग भेटवार्ता पनि गरेका छन् ।
मेयर कोइरालासँगको भेटमा अमेरिकी राजदूत थम्पसनले यस क्षेत्रको विकासका लागि समन्वय गर्न आफू तयार रहेको बताएका थिए ।
विराटनगरको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि सहयोग जुटाउन अमेरिकी सरकारसँग समन्वयकारी भूमिका खेल्ने उनले बताए ।
भेटका क्रममा राजदूत थम्पसनले शिक्षा र स्वास्थ्यमा सुधार नगरेसम्म विकास सम्भव नहुनेमा जोड दिए।
राजदूत थम्सनले भारतीय सीमा क्षेत्रसँग महानगर जोडिएको सन्दर्भमा मानव बेखविखन र ओसारपसारका सम्बन्धमा समेत जिज्ञासा राखेका थिए ।
मेयर कोइरालाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए।
उपमेयर शिल्पा निराला कार्कीले न्यायिक समितिले गरेका कामकारबाहीका बारेमा जानकारी गराएकी थिइन् ।
राजदूत थम्पसनले आफू विराटनगर आउन पाउँदा निकै खुसी लागेको बताएका छन् । उनले ट्विटरमा विराटनगरको वर्णन गर्दै छोटो भिडियो क्लिप सामाजिक सञ्जाल ट्विटरमा राखेका छन् ।
तस्बिरः विराटनगर महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा कार्कीसँग भेटका क्रममा अमेरिकी राजदूत थम्पसन ।