‘बलि’ दिन भारत पुर्याइएको आशंकामा किशोरीलाई फर्काइयो

काठमाडौं । मानव बेचबिखन अनुसन्धान ब्युरोले ‘बलि’ दिन नेपालबाट भारत पुर्याइएको आशङ्कामा एक १६ वर्षीया किशोरीको उद्धार गरेको छ ।

ब्युरोको पहलमा भारतको दिल्लीमा रहेको मङ्गलबजार गल्लीबाट मङ्गलवार किशोरीको उद्धार गरिएको हो । उद्धारपछि किशोरीलाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ ।

ब्युरोले काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी किशोरीको उद्धारबारे जानकारी दिएको हो ।

‘किशोरीलाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाह पैसा पाउने भनिएको रहेछ । भारत लैजानुअघि उनको को तौल, उचाइ, शरीरमा दाग, ट्याटु र रजस्वला भएरनभएको परीक्षण गरिएको रहेछु, ब्युरो निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले भने ।

उनका अनुसार उनलाई भारत लैजानुअघि र लगेपछि दुई पटक शारीरिक परीक्षण गरिएको थियो ।

६० केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इञ्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा ट्याटु नभएको, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको किशोरीको खोजी हुने क्रममा उनलाई भेटाइएको अभियुक्तहरुले जानकारी दिएको प्रहरीको भनाइ छ ।

‘प्रारम्भिक अनुसन्धानबाट अभियुक्तले उनलाई मुख्य तान्त्रिक बाबासँग केही दिनमा भेटाउने योजना बनाएको पाइएको छ’ श्रेष्ठले भने, ‘उनीहरुको आउँदो पूर्णिमामा उनको बलि चढाउने योजना रहेछ ।’

निर्देशक श्रेष्ठले किशोरी भने यसबारे जानकार नभएको बताए । उनले भने ‘हामी दुई महिनादेखि किशोरीको खोजी अनुसन्धानमा जुटेका थियौँ । दुई दिनअघि पाएको सूचनाका आधारमा किशोरीको उद्धार गरिएको हो ।’

पीडित किशोरी मङ्सिर १७ गते मामाघरबाट काठमाडौं ल्याइएको थियो । पुस १९ गतेसम्म काठमाडौंमा उनलाई बन्धक बनाइएको थियो । पुस २० गते उनलाई नेपाल–भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीमा रहेको पाहाडगञ्जमा पुर्‍याइएको प्रहरीको भनाइ छ ।

भारत पुर्‍याएपछि भारतका विभिन्न तीन ठाउँमा रहेका तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा उनलाई लगिएको प्रहरीको भनाइ छ ।

आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण उनी मामाघरमा बस्दै आएकी थिइन् । ती किशोरीलाई प्रलोभन देखाउनेमा किशोरीको नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ ।

अहिले प्रहरीले यस घटनामा संलग्न छ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जानकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

प्रहरीको तथ्याङ्कअनुसार नेपालका विभिन्न नाकाबाट बेचबिखन र ओसारपसार हुनबाट माघ महिनामा मात्र १८ जना महिलालाई विभिन्न देशबाट उद्धार गरिएको छ ।

पछिल्ला पाँच वर्षमा ३० जना किशोरीलाई बेचबिखन तथा ओसारपसार हुनबाट उद्धार गरिएको प्रहरीको भनाइ छ । बेचबिखन तथा ओसारपसार हुनबाट किशोरी, महिला, बालक र पुरुष गरी ४ सय ४३ जनाको उद्धार गरिएको छ । (रासस)

तस्बिरः शुक्रबार आयोजित पत्रकार सम्मेलनमा घटनाबारे जानकारी दिंदै प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *