देशको अर्थतन्त्र गम्भीर समस्यामा : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्रमा संवेदनशील र गम्भीर समस्या आएको बताएका छन् । सिन्धुपाल्चोकमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित सिन्धुपाल्चोकको जुगल गाउँपालिका ५ बराम्ची चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालय भवन उद्घाटनमा प्रधानमन्त्री दाहाल सहभागी भएका थिए ।

‘देशको सिंगो अर्थतन्त्रमा गम्भीर समस्या आएको छ, प्रधानमन्त्री बनेसँगै यी समस्या हल गर्ने अठोट लिएको छु’ उनले भने, ‘केही सकरात्मक संकेत पनि देखिएको पनि छ ।’

सरकारको जिम्मेवारी सम्हालेपछि मन्त्रिपरिषद्‍को पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्नेतर्फ ध्यान दिएको प्रधानमन्त्री दाहालले बताए ।

निजी क्षेत्र र सरकारको सहकार्यमा मुलुकको अर्थतन्त्र उकास्ने लक्ष्य राखिएको उनको भनाइ थियो ।

बैंक र व्यवसायीबीच सहज सहकार्यको स्थिति सिर्जना भएको दाबी गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रले क्रमशः विकासको गति लिनेमा विश्वास व्यक्त गरे ।

सिन्धुपाल्चोकमा भूकम्प र बाढीबाट पीडित बस्तीलाई पुनर्वास गराउन आफू तयार रहेको उनले बताए ।

चनौटेमा चीनको एक अर्बभन्दा बढी लागतमा निर्मित विद्यालयका अत्याधुनिक सुविधायुक्त ६ वटा भवन चिनियाँ मोडेल अनुसार बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *