नेपाली श्रमिकको सुरक्षा र सुविधाबारे मलेसियाका गृहमन्त्रीको ध्यानाकर्षण गराइँदै

काठमाडौं । मलेसियामा नेपाली श्रमिकले भोग्नुपरेका समस्याबारे छलफल गरिने भएको छ । नेपाल र मलेसियाबीच आज शुक्रबार हुने बैठकमा नेपालले श्रमिकका समस्याबारे छलफल गर्ने भएको हो ।

मलेसियाका गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइलको सहभागितामा हुने बैठकमा नेपाली पक्षले चार वर्षअघि भएको श्रम सम्झौताको कार्यान्वयन तथा मलेसियामा रहेका नेपाली श्रमिकलाई समान ज्याला र सुरक्षाका विषय उठाउने छ ।

नेपालले नयाँ श्रमिक भर्ना प्रक्रियामा पूर्ण रूपमा शून्य लागतको अभ्यास लागू गर्ने प्रस्ताव पनि राख्ने भएको छ ।

सन् २०१८, अक्टोबरमा नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको थियो । सम्झौताअनुसारका कतिपय विषय कार्यान्वयन नभएको गुनासो हुने गरेको छ ।

प्रमुख श्रम गन्तव्य मुलुक मलेसियामा करिब चार लाख नेपाली कार्यरत रहेको तथ्यांक छ । नेपाली कामदारको पारिश्रमिक निकै कम हुने गरेको भन्दै बढाउनुपर्ने माग उठ्दै आएको छ ।

मलेसियामा नेपाली कामदारको सुरक्षा, मलेसियामा कानुनी हैसियत प्राप्त गर्न नसकेका श्रमिकलाई आममाफी तथा जेलमा रहेका चौध नेपालीलाई रिहाइ गर्ने लगायत विषय पनि नेपालका तर्फबाट उठाइने भएको छ ।

मलेसियाका गृहमन्त्री साइफुद्दिन बिहीबार काठमाडौं आएका थिए । उनले प्रधानमन्त्रीलगायत उच्च पदस्थ अधिकारीहरुसित भेट्ने कार्यक्रम छ ।

तस्बिरः मलेसियाका गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइल (बीचमा) ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *