कष्टपूर्ण समयमा पनि मैले आत्महत्याबारे सोचिनँ : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संघर्षका बेला डेढ महिनासम्म केही पनि खान नदिएर प्रहरी हिरासतमा यातना दिइएको बताएका छन् ।

विराटनगरमा बिहीबार ‘सिएनआई कोसी एक्स्पो’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले यसअघिको सरकारप्रति लक्षित गर्दै ‘परमादेशबाट आएको ग्रहण’ ले डेढ वर्ष छोप्यो भन्दैमा निरास भएर आत्महत्या गर्न नहुने उद्योगी-व्यवसायीलाई आग्रह गरे ।

उनले भने, ‘दौडिँदा लडियो भने, खेल्दा लडियो भने घर गएर आत्महत्या गर्ने हो र ? जुरुक्क उठेर दौडनु पर्छ । फेरि खेल्नु पर्छ । म उद्योगी व्यवसायीलाई आत्महत्याको धेरै चर्चा नगर्न आग्रह गर्छु । अरुलाई पनि त्यसमा प्रोत्साहन हुन्छ । त्यो विषय पनि सोच्ने कुरा हो ? यस्तो सोच्न मिल्छ ? यस्तो हुतिहारा हौं हामी ?’

जस्तोसुकै कष्टपूर्ण अवस्थामा पनि हरेस खानु नहुने भन्दै ओलीले आफूलाई प्रहरी हिरासतमा राखेर बुट र लाठी हान्ने गर्दा पनि कहिल्यै पनि हिम्मत नहारेको उल्लेख गरे । ‘चार वर्ष चिसो छिँडीमा राखेर मन्त्री हुन लागेको होइन भन्दै लात्तले हान्थे । हुन त प्रधानमन्त्री हुन परेको रहेछ ।’

असहज अवस्था सधैँ नरहने बरु त्यस्तो चुनौतीलाई अवसरका रुपमा बदल्न सक्नुपर्ने उल्लेख गर्दै नेता ओलीले आत्महत्याको बाटो कहिल्यै पनि रोज्न नहुने बताए ।

‘चिसो छिँडीमा राखिएको थियो, त्यहाँ चिसो पानी खन्याइएको हुन्थ्यो, सयौं रात त्यस्तो ठाउँमा बस्नु परेको थियो, त्यस्तो जिन्दगी पनि मैले बिताएँ तर आत्महत्याको बाटो कहिल्यै सोचिन’ ओलीले भने ।

अदालतको परमादेशपछि बनेको सरकारका कारण मुलुकको अर्थतन्त्र डामाडोल बनेको आरोप ओलीले लगाए । यसअघिको सरकारको पालामा नेपालको अर्थतन्त्र ऋणात्मक पुग्न अवस्था आएको भन्दै ओलीले आगामी दिनमा यस्तो अवस्थालाई सुधार गरिने बताए ।

नयाँ सरकार बनेपछिको अहिलेसम्मको छोटो अवधिमै पनि देशको अर्थतन्त्रमा सुधारमा गएको दाबी ओलीले गरे ।

मुलुकको अवस्था ऋणात्मक हुने जोखिममा रहेको भन्दै ओलीले यो अत्यन्तै गम्भीर कुरा भएको बताए । यही हिसाबले अगाडि जाने हो भने देश बर्बाद हुने अवस्था रहेको तर अब नयाँ सरकारले त्यसमा सुधार ल्याइरहेको दाबी उनले गरे ।

नेपाल, भारत, बंगलादेश र म्यानमार गरी चारवटा देशको कनेक्टिभिटी, व्यापार, सडक पूर्वाधारको विषयमा अध्ययन भइरहेको भन्दै ओलीले अबका दिनमा विराटनगरसहित मुलुकको आर्थिक अवस्था सु्दृढ हुने बताए ।

नेपाल उद्योग परिसंघ, सीएनआई प्रदेश १ को आयोजनामा सीएनआई कोसी एक्स्पो २०७९ आयोजना गरिएको हो । एक्स्पोमा लघु, घरेलु, साना र कृषि उद्यमीहरुका लागि ७२ वटा स्टल रहने जनाइएको छ ।

ताप्लेजुङको राडी, तेह्रथुमको ढाका, भोजपुरको खुकुरी, विभिन्न जिल्लामा निर्मित हस्तकलाका सामानहरु, घरेलु सामग्रीबाट निर्मित जुत्ताचप्पल, ढाकाका कपडा, विभिन्न जातका फलफुल र अचारका स्टलहरु रहने आयोजकले जनाएको छ ।

त्यसैगरी हिमाली जिल्लाका जडिबुटी औषधी, छुर्पी, मह, चिज, अकबरे खोर्सानी लगायतका अर्गानिक कृषि उत्पादन पनि एक्स्पोमा राखिने जनाइएको छ ।

विशेष गरी महिलाहरु संलग्न भएर सुरु गरिएका लघु तथा घरेलु उद्योग, कृषिजन्य वस्तुका विशेष उत्पादनलाई एक्स्पोका माध्यमबाट बजारसम्म पु¥याउने र उनीहरुलाई पनि खुल्ला बजारमा पहुँच स्थापित गर्ने उदेश्यका साथ स्टलका लागि समन्वय गरिएको आयोजकले जनाएको छ ।

एक्स्पो माघ २८ गतेसम्म सञ्चालन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *