रामको मूर्ति बनाउन अयोध्या पुर्याइयो कालीगण्डकीको शिला

काठमाडौं । कालीगण्डकी नदीको शिला भारत, अयोध्यास्थित राम जन्मभूमिमा रामको मूर्ति निर्माणका लागि पुर्याइएको छ ।
अयोध्यामा बिहीबार आयोजित कार्यक्रममा जनकपुरस्थित जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले शिला राम जन्मभूमि मन्दिर निर्माण ट्रस्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गरे ।
त्यस क्रममा विधिवत पूजा पाठ र मन्त्रोचारण गरिएको थियो।
शिला हस्तान्तरण समारोहमा पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलगायतको पनि सहभागिता थियो ।
रामको जन्मस्थल भारतको अयोध्यामा भव्य राम मन्दिरको निर्माण भइरहेको छ ।
मन्दिरमा राखिने रामको मूर्ति निर्माणका लागि कालिगण्डकी नदीबाट शिला पुर्याइएको हो ।
शालिग्राम पत्थर पाइने भएकाले कालीगण्डकी नदीको शिलाको छनौट गरिएको हो ।
म्याग्दीको कालीगण्डकी नदीबाट शिला उत्खनन्देखि त्यसलाई अयोध्या पुर्याउने क्रममा बाटामा हजारौं नरनारीले शिलालाई रामको स्वरुप मानेर पूजाआजा गरेका थिए ।
७ फिट लम्बाई, ५ फिट चौडाई र ३।५ फिट मोटाईका २ थान शिला म्याग्दीबाट दुईवटा लहरीमा लगिएको थियो ।
१८ सय करोडको लागतमा भारत सरकारले राम मन्दिरको निर्माण गर्दैछ । मन्दिर निर्माणसँगै अयोध्याको चौतर्फी विकासका विभिन्न परियोजनाहरु पनि एकैसाथ सञ्चालित छन् ।
सडक फराकिलो गर्ने, विमानस्थलको निर्माण, रेल्वे स्टेसनको आधुनिकीकरण लगायतका ५० बढी परियोजनामा काम भइरहेको छ ।