अयोध्या पठाइयो कालीगण्डकीका शिला, राम-सीता मूर्ति बनाइने

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका-६ मा कालीगण्डकी नदीबाट छानिएका दुईवटा शिला हिन्दु धर्मावलम्बीहरुको प्रसिद्ध धार्मिकस्थल भारतको अयोध्या पठाइएको छ ।

अयोध्याधाममा भगवान् राम र सीताको मूर्ति बनाउन कालीगण्डकी नदीको शिला हस्तान्तरण गरिएको बेनी नगरपालिकाले जनाएको छ ।

१६ र २६ मेट्रिक टन तौल क्षमता भएका राम र सीता नामकरण गरिएको शिलालाई दुई छुट्टाछुट्टै ट्रकमा राखेर पठाइएको हो ।

बिहीबार वसन्तपञ्चमी पर्वको अवसर पारेर धार्मिक विधि र परम्पराअनुसार शिलाको पूजापाठ गरी हस्तान्तरण गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए ।

गलेश्वरधाम मन्दिरमा पूजापाठ, भजनकिर्तन गरी शिला जनकपुरधामको जानकी मन्दिरमा पठाइएको हो ।

शिलाको गलेश्वर मन्दिर परिसरमा गण्डकी प्रदेश सभा सदस्यद्वय हरिबहादुर भण्डारी, बिमला गौचन, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल र गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले पूजा गरेका थिए ।

मुस्ताङको दामोदरकुण्डबाट उत्पत्ति भइ प्रसिद्ध मुक्तिनाथ मन्दिरका १ सय ८ वटा धाराको जल मिसिएर म्याग्दीको धार्मिकस्थल गलेश्वर हुँदै बग्ने पवित्र कालीगण्डकी नदीको शिलालाई भारतको अयोध्यामा लगेर भगवान् राम र सीताको मूर्ति बनाउन लागिएको हो ।

अयोध्याधाममा निर्माणाधीन राम मन्दिरको परिसरमा कालीगण्डकीको शिलालाई मुख्य मूर्ति कुँदेर राखिने जनाइएको छ ।

भूगर्भविद्, शिलाविद्, प्राविधिक तथा विज्ञसहितको टोलीले दुई हप्ताको समय लगाएर कालीगण्डकी नदीका ती शिलाको पहिचान गरेको थियो ।

शिला ७ फिट लम्बाइ, ५ फिट चौडाइ र ३ दशमलव ५ फिट मोटाइका छन् ।

विश्वमै दुर्लभ र कालीगण्डकीमा मात्रै पाइने शिला (शालिग्राम) लाई हिन्दु धर्मावलम्बीहरुले भगवान् विष्णुको अवतारको रुपमा मान्ने गर्दछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *