मोडललाई बलात्कार गरेको मुद्दामा पाण्डे दोषी ठहर

काठमाडौं । बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेको छ ।

न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेविरुद्ध बाल यौन दुर्व्यवहारको अभियोगमा दाबी पुग्ने ठहर गरेको हो ।

अदालतले अर्को पेसी तोकेर सजाय निर्धारण गर्ने भएको छ । बाल यौन दुर्व्यवहारमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना हुने मुलुकी ऐनमा व्यवस्था छ ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोपमा पाण्डेलाई यसअघि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले २०७९ असार १ गते पाण्डेविरुद्ध जबरजस्ती करणी र यौन दुर्व्यवहारको अभियोगमा मुद्दा दायर गरेको थियो ।

एक मोडललाई लामो समयसम्म बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोप पाण्डेमाथि लागेको थियो ।

सामाजिक सञ्जालमार्फत् बलात्कारपछि फोटो र भिडियो खिचेर पाण्डेले ‘ब्ल्याकमेल’ गर्दै छ महिनासम्म निरन्तर यौन शोषण गरेको आरोप पीडितले लगाएकी थिइन् ।

घटनाको छानबिन गर्न मागको आवाज उठेपछि प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *