आफैँलाई आगो लगाएका आचार्यको मृत्यु

काडमाडौं । आत्मदाह प्रयास गरेर आफैँलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा मृत्यु भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
मंगलबार दिउँसो बानेश्वरमा उनले आफैँलाई आगोल लगाएर आत्मदाहको प्रयास गरेका थिए ।
अस्पतालको बर्न वार्डका प्रमुख डा. सुरेन्द्र बस्नेतले बुधबार बिहान साढे ५ बजे उपचारका क्रममा आचार्यको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार आचार्यको शरीरको ८० प्रतिशतभन्दा बढी भाग आगोले जलेको थियो ।
फेसबुकमा लामो सुसाइड नोट लेखेर इलाम पञ्चकन्या–६ का ३६ वर्षीय आचार्यले नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।
प्रहरीले उनलाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याएको थियो ।
आचार्यले फेसबुकमा आफू उद्योगी, व्यवसायी भएको र व्यापार व्यवसायमा जताततै असफलता बेहोरेको उल्लेख गरेका छन् ।
पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, वैदेशिक रोजगारमा जाँदा एवम् उद्योग चलाउँदा भोग्नुपरेका समस्या उल्लेख गरेका छन् ।
आफू डिप्रेसनमा भएको, तर कसैले पनि आफ्नो कुरा स्वीकार नगरेको समेत उनले खुलाएका छन् ।