कांग्रेसले पायो प्रमुख प्रतिपक्षी दलको मान्यता

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रमुख विपक्षी दलको मान्यता पाएको छ । संघीय संसद् सचिवालयले कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको हो ।

सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा प्राप्त हुने जानकारी गराएको छ ।

कांग्रेसले संसद् सचिवालयमा पार्टीलाई विपक्षी दलको मान्यता दिँदै सेवा सुविधा उपलब्ध गराउन पत्र पठाएको थियो ।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको थियो । सचिवालयले पठाएको पत्रमा भने कांग्रेसलाई विपक्षी दलको सेवासुविधा उपलब्ध हुने उल्लेख छ ।

सचिवालयका उपसचिव रामहरि थापाको पत्रमा भनिएको छ, ु प्रस्तुत विषयमा तहाँ दलको कार्यालयको पत्र संख्या २०७९।०८० च.नं. ४५ मिति २०७९।०९।२९ को पत्रवाट प्रतिनिधि सभामा विपक्षी दलको नेता माननीय श्री शेर वहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भई आएको सन्र्दभमा सो सुविधा संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरु र अनुसूची १ तथा अनुसूची २ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छ ।’

पुस २६ गते प्रतिनिधिसभामा उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ जनाले दाहाललाई विश्वासको मत दिएका थिए । दाहालले सत्ता गठबन्धनमा नरहेका कांग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको पनि मत पाएका थिए ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले मात्र विपक्षमा मतदान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *