पसिनाको दुखाई

कहिलेकाहीँ
यसो एकक्षण
मुस्काउनुको कारण
नसोध्नु मलाई,
नेभाराको रूख मुन्तिरको
तीन गरा जति बारी खनेर आइ
बिँडी तान्न बसेको
माल्दाईको थकानसँग बात मार्दैछु म यतिखेर,
सन्तुष्टिले जितेको
उसको अनुहारको थकाई देखेर
मेरो सञ्चो पनि हाँसेको छ ।
घर पछाडि पहिरोले ल्याएको
बडेमानको ढुङ्गा फुटाइसके पछिको
मैतेको ढुक्कलाई
उसको अनुहारबाट ओसारेर
छातीमा हुलेपछि
मेरो अनुहारमा घाम लागेको हो ।
दुईटा ग्यास सिलिण्डर बोकेर
लामो सिँडी़ उकालो हिँड्ने
पेम्बाको आपाले
रित्तो सिलिण्डरको टाउकोमा बसेर
टोपीले पसिना पुछेपछिको
हलुङ्गो भएको आभासलाई
स्पर्श गरेपछि नै हो
मेरो पनि छाती ओठसम्म आइपुगेको ।
ठेलाले मेटाएका
हत्केलाका बाङ्गा टिङ्गा रेखाहरूबाट
खोइ कहिले हो
उनीहरूले भाग्य झारिपठाको,
त्यसैले होला उनीहरूको
पसिनाको सधैँ
मोलतोल भइरहन्छ,
माल्दाईको पौरख
बजार आइपुगेपछि
असन्तष्टिको एउटा अपुग दाम
गोजीमा घुसारिन्छ,
मैतेको उमेरले
कहिलेसम्म हम्बर उचाल्न सक्ला
उचालिरहनु पर्ने गह्रौँहरूले
कहिल्यै मैतेहरूलाई
खुम्चेको ज्यालाले दसैँमा
दसैँ मनाउन दिँदैन,
पेम्बाको आपाले
ल्होसारमा छोराछोरीलाई
उनेरले छानेको लुगा जुत्ता
किनिदिन सक्दैन ।
भुईँतिर खसेको भाग्य
टिपेर ठेला परेका हातमा
टाँस्ने चाहना होला
उनीहरूको छातीभित्रका दग्धी छेउछाउ,
तर
बारी खन्नु,
हम्बर उचाल्नु
र सिलिण्डर बोक्नु नै
यियतिले
थाप्लोमा खोपिदिएको
अदृश्य नक्सा बोकेर हिँड्नेहरू
मुसुक्क हाँस्छन्
हातमा परेको पैसाको सम्मोहनले
वशीभूत उनीहरू ।
-खरसाङ